काठमाडौं । चार महिनामा तीन जना एकल महिलाको हत्या गरेको अभियोगमा एक भारतीय युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंहले गहना लुट्न चार महिनामा तीन जना एकल महिलाको हत्या गरेको प्रहरीले पुष्टि गरेको हो । उनले अर्घाखाँची, गुल्मी र कपिलवस्तुका तीन महिलाको हत्या गरेको खुलासा भएको हो ।
प्रहरीको अनुसन्धान अनुसार उनले महिलाको हत्या गरेर गहना लुटेर भागेका थिए । अर्घाखाँचीमा तेस्रो पटक महिलाको हत्या गरी भाग्ने क्रममा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सिंहले तीनवटा एउटै प्रकृतिका घटनाको विवरण प्रहरीसामुु बताएका छन् । हत्या गर्ने योजनामा सघाएको आरोपमा प्रहरीले उनकी श्रीमतीलाई पनि पक्राउ गरेको छ ।
शितगंगा नगरपालिका–१० की ६० वर्षीया राधा थापालाई दूध लिन जाने क्रममा बाटामै हत्या गरी गरगहना लटेर भाग्दै गर्दा पक्राउ परेका २३ वर्षीय भारतीय नागरिक शुसान्त सिंह ुसिरियल किलरु भएको प्रहरीले पुष्टि गरेको छ । यसअघि उनले कपिलवस्तु र गुल्मीमा पनि महिलाको हत्या गरेका थिए ।
यही पुस १७ गते बिहान ९ बजेतिर होटलमा आउने पाहुनालाई चिया खुवाउन दूध लिन जाँदै गर्दा सिंहले थापालाई ढुंगा र हँसिया प्रहार गरी हत्या गरेर भाजामारे जंगलको खोल्सामा फालेर गहना लिएर भागेका थिए । भाग्ने क्रममा जंगलमा लुकी बसेको अवस्थामा प्रहरीले सिंहलाई पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानको क्रममा सिंह र श्रीमती शिवा परियारले मिलेरै हत्या गर्ने योजना बनाएको प्रहरीलाई बताएका थिए । सिंहले ३ वर्षअघि बोखर गाउँकी परियारसँग विवाह गरेका थिए । थापालाई हत्या गरेर मडहरी, सिक्री लगायत गहना लगेर भागेका थिए । प्रहरीले गहनासहित पक्राउ गरेपछि सिंहले प्रहरीसामु थापाको हत्या स्वीकार गरेका थिए ।
प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले गुल्मी र कपिलवस्तुमा पनि महिलालाई हत्या गरेको स्वीकार गरेको बताए । २०७९ असोज १४ गते कपिलवस्तु विजयनगर गाउँपालिका–४ विजयनगर बस्ने ७० वर्षीया योगमाया गैरेलाई हत्या गरेको पुष्टि भएको छ । चिनजान गरेपछि घरमा एक्लै रहेको बेला आमा ढोका खोल्नुस भन्दै हत्या गरी गहना लुटपाट गरेका थिए ।