काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल बन्नुहुने सम्भावना बढेको छ ।
सत्ता गठबन्धनमा राष्ट्रपति पाएको एमालेभित्र राष्ट्रपतिको उम्मेदवारको को हुने भन्ने चर्चा चलिरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेललाई अघि सार्ने सम्भावना बढेको स्रोतको दाबी छ।
एमालेबाट औपचारिक रुपमा राष्ट्रपतिको आकांक्षा राख्ने कम देखिए पनि भित्रभित्रै त्यसका लागि दौडधूप गर्नेको संख्या ठूलो छ।
आफूले भनेको सहज रुपमा मान्ने व्यक्तिलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने योजनामा रहनुभएका अध्यक्ष ओलीले पौडेलको नाम अघि सारिएको एमाले निकट स्रोतको भनाइ छ । पौडेल आफैँले पनि आफ्नो चर्चा राष्ट्रपतिका लागि भएको स्वीकार गर्नुभएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका बलिया दाबेदारका रुपमा देखिए पनि उहाँलाई अघि सार्न अध्यक्ष ओली अनिच्छुक देखिनुभएको स्रोतको दाबी छ ।
कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले र माओवादी केन्द्रको गठबन्धन बनाउन भूमिका खेलेका नेम्वाङलाई ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना कम हुँदै गएको नेम्वाङका राजनीतिक निकटस्थहरुको भनाइ छ ।
२०७४ सालमा पौडेल आफूले नै अपेक्षा नगरेको अवस्थामा संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।
संसदीय दलको नेतामा उम्मेदवारी दिने समय सकिन केही मिनेट मात्रै बाँकी रहेका बेला ओलीको निर्देशनमा उहाँले दलको नेतामा उम्मेदवारी दिनुभएको थिये । त्यसलगत्र्त ओलीले पौडेललाई मुख्यमन्त्री समेत बनाउनुभएको थियो ।
७६ वर्षीय पौडेल ४३ वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।