काठमाडौं। बागमती प्रदेश मुख्यमन्त्री पदमा दाबी पेश गर्न २५ पुसको समयसीमा दिइएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा रहेका दुई वा दुईभन्दा दलको समर्थनमा २५ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
बिहीबार प्रदेश प्रमुख शर्माले आह्वान गरेअनुसार २५ पुस अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेश गर्न भनिएको छ ।
‘माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माज्यूसमक्ष निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको मिति २०७१र८र२९ को निर्णयानुसार मिति २०७९/९/०२ मा पेश हुन आएकोले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/०९/२५ गते सोमबार १६ः०० बजे भित्र दावी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ,’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्रीमा कसको कति सम्भावना ?
११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ । केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनले सबैभन्दा ठूलो दल भएर पनि कांग्रेससहितको सरकार बन्ने सम्भावना छैन ।
पछिल्लो चर्चाअनुसार बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासहितको सरकार गठनको तयारी भैरहेको छ ।
मुख्यमन्त्रीमा तीनै दलका संसदीय दलका नेताहरु एमालेका जगन्नाथ थपलिया, माओवादी केन्द्रका शालिकराम जमकट्टेल र राप्रपाका उद्धब थापाले दाबी गर्नुभएको छ ।