काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि उपभोक्तालाई चर्को मूल्यमै पेट्रोलियम पदार्थ बेचेको १ पुसदेखि १५ पुससम्म मात्रै एक अर्ब ३२ करोड ८९ लाख नाफा कमाएको छ ।
१६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख नाफा हुने अनुमान छ । तर, पुरानो ऋण घटाउन भन्दै निगमले अहिले पनि उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोल प्रतिलिटर १४.६६ र मट्टीतेल प्रतिलिटर ४३.७९ रुपैयाँ महँगो बेच्दै छ ।
भारतबाट ८५.३५ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा एक सय ६३.३४ रुपैयाँ पर्छ । तर, निगमले एक सय ७८ रुपैयाँमा बिक्री गर्छ । त्यस्तै, प्रतिलिटर एक सय ६७.८२ रुपैयाँ लागत पर्ने डिजेल एक सय ७५ रुपैयाँमा बिक्री गरिन्छ । निगमले भारतबाट डिजल प्रतिलिटर एक सय १० रुपैयाँमा खरिद गर्छ । भारतबाट १०३.९४ रुपैयाँ प्रतिलिटरमा खरिद गरिएको मट्टीतेलमा सम्पूर्ण लागत एक सय ३१.२१ रुपैयाँ पर्छ । तर, उपभोक्ताले एक सय ७५ रुपैयाँ लिटर खरिद गरिरहेका छन् ।
आन्तरिक हवाई इन्धनमा निगमले प्रतिलिटर ४८.८१ रुपैयाँ नाफा राखेर एक सय ९० रुपैयाँमा र बाह्य हवाई इन्धनमा ९९.३५ रुपैयाँ नाफा राखेर बिक्री गरिरहेको छ । खाना पकाउने एलपी ग्यासमा भने निगमले नियमित रूपमा नोक्सान खेप्दै आएको छ । प्रतिसिलिन्डर १८ सय रुपैयाँ बिक्री मूल्य तोक्दा निगमलाई सिलिन्डरमा ३५९.५० रुपैयाँ घाटा छ । निगमले १४ सय ९५.९९ रुपैयाँ प्रतिसिलिन्डर ग्यास खरिद गरिरहेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म निगमले निरन्तर नोक्सानी खेपेको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेपछि कात्तिकदेखि भने निगमले नाफा कमाउन थालेको हो । १ देखि १५ मंसिरसम्म नौ करोड ८० लाख तथा १६ देखि २९ मंसिरसम्म ५८ करोड ७१ लाख आर्जन गरेको नाफाले ‘ब्रेक इभन’ मा पुगेको थियो ।
नयाँ पत्रिका दैनिकका अनुसार अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घटेको, तर नेपाली बजारमा समायोजन नगरेका कारण निगमले १ देखि १५ पुससम्म एक अर्ब ३२ करोड नाफा गरेको छ । त्यस्तै, १६ देखि ३० पुससम्म थप ९९ करोड १२ लाख नाफा आर्जन गर्ने अनुमान छ । यो प्रक्षेपण पूरा भए पुसमा मात्रै निगमले दुई अर्ब ३१ करोड १२ लाख नाफा कमाउने छ ।
निगमलाई आइतबार दिउँसो भारतीय आयल निगम (आइओसी)ले पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्य आउँदा पेट्रोल २.५४ रुपैयाँ, डिजेल २.९५ रुपैयाँ, हवाई इन्धन ४.१३ रुपैयाँ प्रतिलिटर र ग्यास ७८.२२ रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढेर आएको निगमले जनाएको छ ।