काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनमा सामेल नहुने निर्णय गरेको छ ।
सोमबारदेखि शुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पार्नुभएको हो ।
बैठकमा उहाँले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गर्नुभयो । ‘देशको राजनीतिक आफ्नै जटिलता छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौं। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ नेपालको भनाइ थियो ।
नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभएको थियो ।
दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले एकीकृत समाजवादी सरकारमा जान नहुने धारणा राखेका थिए ।
बैठकमा सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सार्नुभएको छ ।
सोमबार बसेको बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताउनुभएको छ ।
तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ ।
आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरुलाई अहिले मिलाउन र एकरुपता कायम गर्न नसकिने भन्दै उहाँले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताउनुभयो।