काठमाडौं । छोटो राजनीतिक करियरमै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गठबन्धन सरकारमा उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी पाएपछि अन्य दलका नेताहरुलाई मन्त्री बन्न नैतिक संकट देखिएको छ ।
सरकार गठनमा पनि रविको अपत्यारिलो छलाङले उहाँभन्दा कम प्रोफाइलमा बसेर मन्त्री बन्न दलका सिनियर नेताहरुलाई नैतिक संकट परेको छ । त्यसैले सिनियर नेताहरु मन्त्री बन्न अनिच्छुक देखिन थालेका छन् ।
यसबीचमा पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री नबन्ने बताउनुभएको छ ।आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताउनुभयो । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उहाँको भनाइ थियो ।
पुनलाई वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्ये एक मानिन्छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा पुनले दोस्रो तहका एमाले नेताहरूसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाउनुभएको थियो ।
चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय हुनुभएको थियो । तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लागिपर्ने बताउनुभयो ।
पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकारबाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न सम्वद्ध सबैलाई आग्रह गर्नुभयो । पहिलोपटक मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलोपटकमै उपप्रधानसहित गृहमन्त्री भएको विषयलाई कारण बनाउँदै पुन सरकारमा जान अनिच्छुक भएका समाचार आएका छन् ।
तर समाचारको खण्डन गर्दै उहाँले आफू स्वेच्छाले नै मन्त्री बन्न नचाहेको बताउनुभयो । राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो । आफ्ना अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेपछि जनमानसमा उत्साह आएको उहाँको दाबी थियो ।
फरक प्रसङ्गमा पुनले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको मुलुकले कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा परिपक्वता र कुशलता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । सरकार र आफ्नो दलले दुई छिमेकी भारत र चीन तथा अमेरिकासहित सबै मित्र राष्ट्रसँग समानता र सहअस्तित्वका आधारमा बराबरीको सम्बन्ध राख्ने विषयलाई सधैं केन्द्रमा राख्ने उहाँको भनाइ थियो ।