काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ७ दलीय गठबन्धन सरकार गठन हुने भएको छ ।
यसअघिको पाँचदलीय गठबन्धन टुटेसँगै सरकार गठनका लागि बालकोटमा नयाँ समीकरण बनेको हो । एमाले अध्यक्ष ओली निवासमा बसेको बैठकमा शीर्ष नेताबीच एमाले नेतृत्वमा ७ दलको गठबन्धन बनाउने सहमति भएको हो ।
सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । ७ दलीय गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ सीटसहित १६६ सांसद रहेका छन् । प्रधामन्त्रीमा प्रचण्डको नाम लिएर नेताहरू शीतल निवास गएका छन् ।
वार्तामा सहभागी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका अनुसार राष्ट्रपतिले दिएको समयसीमाभित्र एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा प्रचण्डको नाम पेश गरिएको छ ।
सहमति अनुसार नयाँ सरकारको नेतृत्व प्रचण्डले गर्ने र राष्ट्रपति एमालेले पाउने छ । सभामुख पनि एमालेले पाउने गरी सहमति जुटेको छ ।
स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।
प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।