काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार पद तथा गोपनीयतको शपथ गराउँनुहुने भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लाग्नुभएको हो ।
संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मंसिर २४ गते रहेको छ।
नागरिकता अनुसार नेपाल सामाजवादी पार्टीका सांसद महिन्द्रराय यादव जेष्ठ हुनुहुन्छ । कागजी उमेरमा जेठो भए पनि आफू कान्छो रहेको स्वघोषणा गर्दै उहाँले शपथ ग्रहण गराउन अस्वीकार गर्नुभएको छ ।
त्यसपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राणाको नागरिकता भिडाउँदा केसीभन्दा राणा १ महिना २६ दिनले जेठो रहेको पाइएको छ।
केसीको जन्म विसं १९९८ माघ २० मा भएको थियो भने राणाको जन्म १९९८ मंसिर २४ मा भएको थियो।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।
सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ। सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई विहीवार दिनको १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ।
नेपालको संविधानअनुसार संघीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ। प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।