काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फास्ट ट्रयाकमा सुनुवाई गर्ने तयारी गरेको छ ।
मुद्दाका सबै प्रक्रिया टुंगाएर फैसलाको तयारी भइरहेको जिल्ला अदालत स्रोतको भनाइ छ ।
छिटो फैसला आएपनि सन्दीपले सफाई पाउने सम्भावना भने न्यून देखिएको छ । पीडित युवतीले जाहेरीमा भन्दा चर्को बकपत्र अदालतमा गरेकी छिन् । जसकारण सन्दीपले सफाई पाउने सम्भावना न्यून देखिएको हो ।
करिब एक महिना प्रहरी हिरासतमा बसेपछि अदालतले गत २० असोजमा सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाएको छ । हाल उनी केन्द्रीय कारागारमा थुनामा छन् ।
अदालतले दुवै पक्षका साक्षीहरुको समेत बकपत्र गरिसकेको छ । जसमा सन्दीपको पक्षमा फैसला आउने प्रमाणहरु भेटिएका छैनन् । एउटा सकारात्मक पक्ष भने पीडित किशोरी १८ वर्ष उमेर पुगिसकेको कागजपत्र भने नुवाकोटको स्थानीय तहबाट अदालतमा पुगेको छ ।
युवतीको नागरिकताको उमेरका आधारमा उनी १८ वर्ष पुगेको देखिदैन । तर, जन्मदर्तामा भने उनी १८ वर्ष पुगेको देखिएको छ । यसका आधारमा सन्दीपलाई केही सजाय कम हुन सक्ने तर सफाई पाउने सम्भावना भने कम देखिएको एक कानून व्यवसायी बताउँछन् ।
गत ५ भदौमा पिंगलास्थानको एक होटलमा बलात्कार भएको दाबी गरिएको छ । एक युवतीसँग होटलमा बसेको सन्दीपले पनि स्वीकार गरिसकेका छन् । तर, सम्बन्ध नभएको उनको दाबी छ ।
त्यसको भोलिपल्टै सन्दीप क्रिकेट खेल्न विदेश गएका थिए । विदेश गएपछि वास्ता गर्न छाडेका कारण पीडित किशोरी रिसाएर प्रहरीमा उजुरी दिएको प्रहरी अनुसन्धानमा देखिएको छ । बलात्कारको घटनामा एक वर्षसम्म जाहेरी दिन सक्ने कानुनी प्रावधान छ ।