काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातदिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएपछि दलहरु संसदीय दलको नेता चयनमा जुटेका छन् ।
सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले आजै संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संसदीय दलको नेता चयन गर्न आज दिउँसो १ः३० बजे काठमाडौंमा पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ ।
प्रतिनिधिसभामा १० सिट जितेको एकीकृत समाजावादीबाट अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेता निर्वाचित हुने निश्चित नै छ ।
आजै बिहान ११ बजे प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित एकीकृत समाजवादीका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम पनि तय गरिएको छ ।
एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १० सिट जितेको छ ।
यसैगरी प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि संसदीय दलको नेता आज चयन गरिँदै छ । त्यसका लागि महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको छ ।
पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै महाराजगन्जमा बधाई दिने कार्यक्रम राखिएको छ । बधाई कार्यक्रम बिहान साढे ८ बजे सुरु हुने सो पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।
त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उहाँले बताउनुभयो । पार्टीका सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने पक्कापक्कीजस्तै छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ ।