काठमाडौं । नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र एक क्षेत्रीय सभापतिलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ।
मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै उनीहरूलाई अनुशासनको कारबाहीका लागि काभ्रे कांग्रेसले सिफारिस गरेको हो ।
जिल्ला सभापति तीर्थ लामाले विज्ञप्ति निकालेर केन्द्रीय सदस्यद्वय मधुप्रसाद आधार्य, गणेश लामा र क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई अनुशासनको कारबाही गर्न सिफारिस गरिएको जानकारी दिनुभएको छ ।
केन्द्रीय सदस्यद्वय आचार्य, लामा र प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति खरेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ ।
काभ्रे २ मा शिवप्रसाद हुमागाईं कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो । उहाँ नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटासँग पराजित हुनुभएको थियो । हुमागाईं र तीर्थ लामालाई भोट नमागेर विपक्षी उम्मेदवारलाई भोट मागेको आरोप लगाउँदै उनीहरूमाथि कारबाहीको सिफारिस भएको छ। तीर्थ प्रदेश सभातर्फ ३ मतले निर्वाचित हुनुभएको थियो ।
केन्द्रीय सदस्य आचार्य निर्वाचन अभियानमा सहभागी नभएको र आफू निकटका वडा सभापति र वडाध्यक्षको बैठक नै बोलाएर एमालेका उम्मेदवारलाई मतदान गर्न दबाब दिएको आरोप लगाइएको छ ।
केन्द्रीय सदस्य गणेश निर्वाचन अभियानमा अनुपस्थित भई आफू निकटका साथीहरूलाई सार्वजनिकरूपमा नै सूर्यमा मतदान गर्न भनेको पाइएको आरोप लगाइएको छ। पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भन्दै लामामाथि उजुरी पनि परेको थियो।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको क्षेत्रीय सभापतिको तर्फबाट वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको आफू निकटका नेता–कार्यकर्तालाई समेत बोलाई एमालेका उम्मेदवारलाई भोट हाल्न दबाब दिई पैसासमेत बाँडेको भन्दै उजुरी परेको थियो।