काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नुभएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा हुनुहुन्छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार प्रतिनिधि सभाको विवरण बुझाएपछि आवश्यक गृहकार्य सुरु भएको बताउनुभयो । शनिबार बिदा, त्यसैले कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्ने उहाँले जानकारी दिनुभयो ।
प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु(याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो । यसको तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकार गठनको तयारीमा जुटिरहेका छन् । कांग्रेस पार्टीभित्र छलफलको तयारी गरिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति देउवाले नयाँ सरकार गठनसहितका विषयमा छलफल गर्न शनिबार सांसदसहितको बैठक बोलाउनुभएको छ ।
शनिबार सभापतिले सांसदहरूसहितको बैठक बोलाएर समसामयिक विषय र सरकार गठनबारे छलफल गर्न लाग्नुभएको शर्माले बताउनुभयो । प्रधानमन्त्रीसहितका महìवपूर्ण पदको विषयमा पनि छलफल भइरहेको बताउँदै उहाँले कांग्रेसले माओवादी समेतलाई विश्वासमा लिएर राष्ट्रपति को बन्नेभन्दा पनि कस्तो बन्ने भन्ने विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्णय गर्ने जानकारी दिनुभयो ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकार गठनका विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार समग्र विषयमा सहमति कायम गरेर अघि बढ्नेगरी दुई नेताबीच संवाद भइरहेको छ । एकीकृत समाजवादीका महासचिव डा वेदुराम भुसालले सत्ता गठबन्धनका दलहरूबीच गहन ढङ्गले छलफल हुने बताउनुभयो । उहाँले शीर्ष नेताहरूबीच एक चरण छलफल भइसकेको र अब निर्णायक चरणमा संवाद थालनी गरेर नयाँ सरकार गठन र नेतृत्वको विषयमा निर्णयमा पुग्ने बताउनुभयो ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी नेतृत्वसँग विभिन्न दलका नेताहरूको छलफल भइरहे पनि सरकार गठनमा आफूहरू इच्छुक नरहेको बताउनुभयो ।