काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण शुरु भएको छ।
मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण शुरु भएको हो। अहिले उपत्यकामा दैनिक १७ करोड लिटर मेलम्चीको पानी वितरण हुनेछ । यहाँको दैनिक माग भने ४३ करोड लिटर दैनिक रहेको छ ।
तत्कालका लागि महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने केयूकेएलले जनाएको छ।
कार्यक्रममा बोल्दै खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिव १२ करोड लिटर रहेको बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौंमहानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा काठमाडौं उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट आलोपालो पानी वितरण हुने उहाँले बताउनुभयो ।