काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर संघ र प्रदेशमा वामपन्थीहरूको नेतृत्वमा सरकार गठन गर्न एमालेले नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।
निर्वाचनको परिणामबाट देशमा अस्थिरताको कालो बादल मडारिएकाले वामपन्थी, प्रगतिशील र राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर स्थिर सरकार दिनुपर्नेमा जोड दिँदै गुरुङले त्यसका लागि एमालेले नै नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालद्वारा शुक्रबार आयोजित बधाई कार्यक्रममा गुरुङले अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भनेर दुष्प्रचार भइरहेको उल्लेख गर्दै उहाँले अहिलेको दक्षिणपन्थी गठबन्धन तोडेर वामपन्थी, राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिलाई एकजुट बनाएर एमालेको नेतृत्वमा सरकार बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वामपन्थी शक्तिहरुबीच तत्काल एकता हुन नसके पनि कार्यगत एकतासहित अगाडि बढ्दा संघ र सातवटै प्रदेशमा एमालेले वामपन्थीहरूको सरकार बनाउने सामर्थ्य राख्ने उहाँको भनाइ थियो ।
उहाँले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको उपलब्धि जोगाउँदै दक्षिणपन्थी शक्तिलाई परास्त गर्न सबै वाम शक्ति एक ठाउँमा उभिएर समाजवादतिर अगाडि बढ्ने कुरा नै अहिलेको मुख्य कार्यभार भएकोमा जोड दिनुभयो ।
नेकपा जोगाउन नसकेकोमा एमालेले पनि समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। एमालेका लागि चुनावी परिणाम न हार न जितको अवस्था बनेको भन्दै घेराबन्दीका बाबजुद पहिलो लोकप्रिय मत पाउनु आफैँमा ठूलो उपलब्धि भएको उनको भनाइ छ।
उपमहासचिव गुरुङले तत्कालीन नेकपाको एकता जोगाउन नसक्नुका पछाडि एकता प्रक्रियामा संलग्न सबैको कमजोरी रहेको भन्दै एमालेले पनि आन्तरिक समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।