काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै पराजित भएको छ ।
मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।
लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो ।
खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए।
तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ को जित दिलाए ।
यस जितसँगै समूह ुसीु को पहिलो खेलमै ३ अंक जोडेको साउदी समूहको शीर्ष स्थानमा रहेको छ ।
अर्जेन्टिना भने पुछारमा रहेको छ ।