काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जबरजस्त उदयको सम्भावना देखिएको छ ।
काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ ।
काठमाडौं २ मा सोबिता गौतमले प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरिरहनुभएको छ । एमालेका मणिराम फुयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेललाई पछि पार्दै गौतम लगातार अगाडि रहनुभएको छ ।
काठमाडौं ६ मा शिशिर पोखरेल अन्य उम्मेदवारभन्दा अघि हुनुहुन्छ । उहाँले कांग्रेसबाट उम्मेदवार बनेका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनाललाई भारी मतान्तरले पछि पारिरहनुभएको छ ।
यस्तै, काठमाडौं ७ मा पनि घण्टीकै गणेश पराजुलीको अग्रता छ । उहाँले एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी उम्मेदवार अस्मिता सिंह (मानुषी) यमीलाई पछि पार्दै मतान्तर बढाइरहनुभएको छ ।
रास्वपाकै अर्का उम्मेदवार विराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट जित नजिक पुग्नुभएको छ । विराजले हाम्रो नेपाली पार्टीका सुमन सायमी र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई पछि पार्दै ठूलो मतान्तरले अघि बढिरहनुभएको छ ।
रास्वपाले ललितपुर क्षेत्र नम्बर ३ मा समेत लगातार अग्रता कायम गरिरहेको छ । घण्टी उम्मेदवार तोसिमा कार्कीले ठूलो मतान्तरका साथ अग्रता कायम गरिरहनुभएको छ । एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्दै कार्कीले अग्रता लिइरहनुभएको छ ।
चितवन २ मा रास्वपा सभापति रवि लामिछानेले समेत मतान्तर बढाइरहनुभएको छ । नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पछि छाड्दै लामिछानेले मतान्तर बढाउनुभएको हो । पुराना दलहरूप्रतिको असन्तुष्टि घण्टीमा अभिव्यक्त भएको कतिपयको धारणा छ । स्थापित भनिएकै दलहरूलाई निर्वाचनमा चुनौती दिएर घण्टीले जबरजस्त उदयले परिवर्तनको हुटहुटी मुखरित गरेको छ ।