काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार भइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुभएको हो ।
विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको उहाँको स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो ।
यस्तै गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ । उहाँ रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौं–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाडौं–५ स्थित टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्नुृभएको छ । एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नुभएको छ ।
संविधान सभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
नेकपा एमालेअध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटबाटै मतदान गर्नुभएको छ ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।