भैरहवा । निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधि गरेको भन्दै निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाणलाई स्पष्टीकरण सोधेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेको उजुरीका आधारमा गृहमन्त्री तथा उम्मेदवार खाणलाई तीन वटा विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, उम्मेदवाहरु सन्तोष पाण्डे, केशव बहादुर खडका र बसिउद्धीन खानलाई समेत स्पष्टीकरण सोधेको छ ।
रुपन्नदेही क्षेत्र नम्बर ३ का उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री खाणलाई सनसाइन स्कुलमा अध्ययनरत बालिकालाई प्रचार प्रसार कार्यालय उद्घाटनको क्रममा नृत्यमा प्रयोग गरेको, चकलेटमा चुनाव चिन्ह अंकित गरी वितरण गरेको र गाडीमा फ्लैक्स प्रिन्ट झुन्डयाई प्रचार प्रसार गरेकोले आयोग मार्फत जरिवाना किन नगर्ने भनि ३ दिनमा जवाफ आउने गरी स्पष्टीकरण सोधिएको छ ।
त्यस्तै सिद्धार्थनगरका मेयर खान उम्मेदवारसँगै कार्य क्षेत्रमै प्रचारमा हिडेको, रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश १ का उम्मेदवार सन्तोष पाण्डे, क्षेत्र २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमुक्ती पार्टीका केशव बहादुर थापा मगर र रुपन्देही क्षेत्र नम्बर ३ २ का नेपाली कांग्रेस तर्फकै उम्मेदवार बसिउद्दीन खानले निर्वाचन आचारसंहित विपरित प्रचार प्रसार, डिजे र कलर प्रचार सामाग्रीबाट प्रचार गरेकोले स्पष्टीकरण सोधिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता शोभाखर खरेलका अनुसार २९ गते स्पष्टीकरण सोधिएको हो ।