काठमाडौं। मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। गए राति १२ बजेदेखि नै स्थिर समय सुरू भइसकेको हो।
यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा नराख्न निर्वाचन आयोगले आग्रह पनि गरेको छ।
चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्ताहरूलाई आग्रह गरेको हो।
आयोगले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन पनि गर्न मौन अवधिमा नपाइने भएकोले त्यस्ता सामग्री हटाउन पनि भनेको छ।
निर्वाचनका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिन्ह भएका पोशाक, लोगो, ब्याज, झन्डा, टिसर्ट, टोपी, स्टीकरलगायत प्रयोगमा पनि निषेध गरेको छ।
मौन अवधिमा उम्मेदवारको जन्मदिन परेमा पनि घरबाहिर गएर जन्मदिनका कार्यक्रम नगर्न आयोगले आग्रह गरेको छ। मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ।