काठमाडौं । निर्वाचनमा खटिएका सुरक्षाकर्मीले तीन अवस्थामा माथिल्लो निकायबाट आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ ।
आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।
अन्य अवस्थामा भने गोली चलाउनुअघि माथिल्लो निकायबाट आदेश लिनु पर्ने हुन्छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन फिल्डका प्रहरीलाई स्पष्ट निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
यसैबीच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुरक्षा चुनौतीहरूलाई औंल्याई त्यसको निराकरण गर्ने उपायहरू अबलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।
निर्वाचनको मौन अवधिमा निर्वाचन विथोल्ने क्रियाकलाप अझ बढी हुन सक्ने भएकाले यस्ता चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरू उच्च सतर्कता र अझ बढी संवेदनशील भएर निर्वाचन सुरक्षामा केन्द्रित हुन उहाँले सचेत गराउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअलरुपमा भिडियो कन्फ्रेन्समार्फत् बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन सम्बोधनको क्रममा सो निर्देशन दिनुभएको हो । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिवद्ध हुनुपर्ने उहाँको भनाई थियो ।
निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई औंल्याई त्यसको निराकरण गर्ने उपायहरू अबलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।