काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन जनताको चाहनाविपरित रहेको बताएको छ ।
जनताको चाहनाविपरित हुन लागेको निर्वाचनको विरोधमा उसले भित्तेलेखन समेत सुरु गरेको छ।
नेकपाले चुनावको विरोध गर्दै मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेको हो।
नेकपाले मकवानपुरका दशवटै पालिकामा भित्तेलेखन अभियान सुरु गरेको नेकपा जिल्लाका सचिवालय सदस्य विवेक घलानले बताउनुभयो। उहाँले निर्वाचनको विरोधमा भित्तेलेखनसँगै पर्चा वितरण र मसाल जुलुस प्रदर्शन गर्ने जानकारी दिनुभयो ।
‘जनताको चाहनाविपरित जबर्जस्ती थोपरिएको चुनाव प्रत्युत्पादक हुने भएकाले विरोध गरेका हौँ। यो चुनावले देशको ढुकुटी रित्याउने र दलाल पुँजीवादी मोटाउने मात्र हो । मंसिर ४ गतेको चुनावले जनचाहना पूरा गर्दैन,’ घलानले बताउनुभयो ।
सचिवालय सदस्य घलानले जिल्लाको दशवटै पालिकामा विरोध कार्यक्रम गर्ने अभियानअन्तर्गत अहिले हेटौँडा उपमहानगरपालिका, कैलाश, मनहरी, मकवानपुरगढीलगायतका पालिकाहरूमा अभियान चलिरहेको र एक–दुई दिनमै सबै पालिकामा अभियान चलाउने जानकारी गराउनुभयो ।
यसैबीच विप्लव समूहसहित, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जनाए। त्यसबाहेक मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० सहित चन्द समूहबाटै फुटेर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायतका समूहले पनि निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।
चुनाव बिथोल्ने धम्कीपछि सुरक्षा निकायले फरक रणनीति बनाएको छ । उसले ‘निर्वाचन सुरक्षा रणनीति र योजना’ मा समेत पुनरावलोकन गर्ने जनाइएको छ।