सुनसरी । चुनाव नजकिँदै गर्दा मुखमा मोरङ र सुनसरीका सिमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय भएको छ ।
प्रदेशको राजधानी विराटनगरका बैंकमा दसैँयता नक्कली नोट फेला परेको दर्जनौ घटना सार्वजनिक भइसकेका छन् । यसले चुनावमा मतदातालाई असर गर्नसक्ने कतिपय उमेदवारले बताएका छन् । तर, विराटनगर र सीमावर्ती क्षेत्रमा यसको नियन्त्रणमा प्रहरी प्रशासनले खासै चासो नदिएको स्थानीयको गुनासो छ ।
चुनावको मौका छोपेर सीमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबार गर्न गिरोह सक्रिय भएको पाइएको हो । खुला सीमा र निर्वाचनको बेला आर्थिक कारोबार बढी हुने हुँदा कारोबारीहरु सक्रिय हुने सुनसरी प्रशासनको भनाइ छ ।
यसैबीच सुनसरीमा भने जाली नोट कारोबारमा संलग्नहरू पक्राउ परेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकमा नक्कली नोटको कारोबार गरेको आरोपमा सुनसरी प्रहरीले १ नावालकसहित २ जनालाई पक्राउ गरेको छ । १ हजारको ६ थान नक्कली नोटसहित देवानगञ्ज गाउँपालिका २ का रवीन्द्रकुमार मेहता, श्यामदेव मेहता र एक नावालकलाई प्रहरीले पक्राउ गरेको थियो । जाली नोट कारोबारमा उनीहरूलाई मुद्दा चलाएको जनाइएको छ ।
श्यामदेव मेहतालाई अहिले पूर्पक्षको लागि जेल चलान गरिएको छ । उनको साथबाट ५ थान एक हजारका नक्कली नोट बरामद भएको थियो । एक थान नक्कली नोटसहित पक्राउ परेका रवीन्द्रलाई अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको छ । तर, धरौटी बुझाउन नसकेपछि उनी पनि कारागार चलान भएका छन् ।
पक्राउ परेका नावालकलाई भने आफन्तको जिम्मा लगाएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिएका छन् ।
गाउँमा लागेको मेलामा खाजा खान गएका ती नावालकले एक हजारको नक्कली नोट व्यापारीलाई दिएका थिए । व्यापारीलाई शंका लागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोधपुछ गर्दा बालकले रवीन्द्रले दिएको बयान दिएका थिए ।
रवीन्द्रलाई नक्कली नोट दिने श्यामदेव स्थानीय व्यापारी हुन् । उनले थाहा पाएरै नक्कली नोट दिएको अनुसन्धानमा देखिएको उपरीक्षक ढकालले बताउनुभयो । उनलाई नक्कली नोट कसले दियो भन्ने विषयमा श्यामदेवले केही नबताएकाले थप अनुसन्धान भइरहेको ढकालले जानकारी दिनुभयो ।
चुनावको बेला नक्कली नोटको कारोबार हुने सम्भावनालाई ध्यानमा राखेर विशेष निगरानी बढाएको उपरीक्षक ढकालले बताउनुभयो ।