काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ मा मुख्य दलहरुबीच रोचक भिडन्त हुने देखिएको छ। यस क्षेत्रमा नेकपा एमालेका कृष्णबहादुर राई, कांग्रेसका सन्तोष चालिसे र नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईँबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर तुलनात्मक रुपमा एमालेलाई सहज देखिएको छ ।
एमालेका राई यसै क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् हुनुहुन्छ । उहाँले कांग्रेसकी अम्बिका बस्नेतलाई ४ हजार बढी मतले हराउनुभएको थियो । त्यसबखत राईले १९ हजार १६९ मत पाउनुभएको थियो भने कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत ल्याउनुभएको थियो ।
अहिलेका कांग्रेस उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत हुनुहुन्छ । उहाँ कांग्रेसको क्षेत्रीय कार्यसमितिका सभापति समेत हुनुहुन्छ । माओवादी केन्द्रका उम्मेदवार बजगाईँ पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।
उम्मेदवारको पृष्ठभूमी र व्यक्तिगत आचारणले पनि मतदाताहरुलाई प्रभावित पार्ने पक्ष हुन् । एमालेका राई २०५४ सालमा तत्कालीन जोरपाटी गाविसका निर्वाचित उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँको पहलमा गाविस भवनको निर्माणदेखि विकास निर्माणका काम धेरै भएको स्थानीयहरु बताउछन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ पारदर्शी, स्पष्ट वक्ता र प्रभावशाली व्यक्तित्वका रुपमा मतदाताबीच स्थापित हुनुहुन्छ ।
निर्माण व्यवसायी पृष्ठभूमीका काँग्रेसका चालिसे पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । तर त्यसबेला उहा पञ्चायती व्यवस्थाको पक्षमा लागेर प्रजातान्त्रिक आन्दोलनलाई दबाउने मतियारमध्येका एक हुनुहुन्थ्यो । २०४९ सालमा तत्कालीन जोरपाटी गाविस अध्यक्ष र २०७४ सालमा गोकर्णेश्वर नगरप्रमुखमा निर्वाचित हुनुभएका चालिसेले दीर्घकालीन प्रभाव पार्ने कुनै योजना कार्यान्वयन गर्न सक्नुभएन । राष्ट्रिय महत्वका योजना मात्र होइन नगरपालिकाको आफ्नो भवन समेत बनाउन नसक्ने मेयरका रुपमा उहाँ बदनाम हुनुभएको छ । तर उहाँको कार्यकालमा मात्र नगरपालिकाको घरभाडा वापत ३ करोड बढी खर्च भएको देखिन्छ । आर्थिक अनियमितताका सन्दर्भमा महालेखा परीक्षकको प्रतिवेदनमा चालिसेको नाममा करोडौं रुपैयाँ बेरुजु रहेको छ ।
त्यसो त यस क्षेत्रमा प्रतिनिधिसभातर्फ मात्र पनि २३ जना उम्मेदवार छन् । त्यसमा विभिन्न दल र आठ स्वतन्त्र उम्मेदवार छन् । तर, प्रतिस्पर्धा भने मुख्य गरी प्रमुख दलहरूबीच नै हुने अवस्था छ । गत स्थानीय तह निर्वाचनको मत परिणामअनुसार पनि एमाले, कांग्रेस र माओवादीबीच नै प्रतिस्पर्धाा हुने देखिएको छ ।
काठमाडौं ३ मा माओवादी केन्द्र कमजोर छ । तर यहाँ हारजित पनि धेरै अन्तरको नहुने भएकाले माओवादीले पाउने मत नै निर्णायक हुन सक्छ ।
तर यो क्षेत्रमा एमालेले भने सहज महसुस गरेको छ । गठबन्धनमा देखिएको गडबढी र तुलनात्मक रुपमा कमजोर उम्मेदवार, पार्टीका पक्षमा बढेको जनलहको आधारमा एमालेले यसपटक पनि विगतकै आँकडामा आफ्नो उम्मेदवार विजयी हुने अनुमान गरेको छ । अर्कोकुरा माओवादीले २ हजार भन्दा बढी मत ल्यायो भने कांग्रेसलाई गाह्रो हुने अर्को विष्लेषण गरिएको छ ।
सत्ता गठबन्धनबाट एकजना मात्रै उम्मेदवार भएको भए एमालेलाई जित्न कठिन हुने अनुमान थियो । तर माओवादी उम्मेदवारका कारण एमालेको विश्वास बढेको छ ।
तर स्थानीय तहको परिणामको आधारमा कांग्रेसले माओवादीको मत नआए पनि जित्ने आंकलन गरेको छ ।
गोकर्णेश्वरको पूरै क्षेत्र यही निर्वाचन क्षेत्रमा पर्छ । यस्तै काठमाडौं महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २ र ३ वडा पनि यस क्षेत्रमा पर्छ ।
गोकर्णेश्वरको मेयरमा कांग्रेसकै दीपककुमार रिसाल विजयी भए पनि उपमेयर सान्नानी लामासहित ५ वटा वडामा एमालेका वडाध्यक्ष हुनुहुन्छ । वडागत मतका हिसाबमा पनि एमालेको बलियो उपस्थिति छ । उपमेयरसहित नौमध्ये पाँच वडामा विजयी भएको हिसाबमा एमाले यहाँ बलियो देखिन्छ । कांग्रेसले तीनवटा मात्र वडा जितेको छ भने एउटामा स्वतन्त्रले जितेको छ ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कागेश्वरी मनोहराको वडा नम्बर १ र ३ मा एमाले र २ मा कांग्रेसले जितेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ मा भने नेपाली कांग्रेसले जितेको छ ।
समग्रमा काठमाडौं ३ मा पर्ने १३ वडामध्ये एमालेले सात, कांग्रेसले पाँच र स्वतन्त्रले एक वडा जितेको छ ।
तर वडागत मत परिणामअनुसार गत स्थानीय तह निर्वाचनमा कुल मतका आधारमा कांग्रेस अगाडि छ । कांग्रेसले १५ हजार सात सय ९५ मत ल्याएको छ । यस्तै, एमालेले १४ हजार आठ सय ७६ मत ल्याएको छ । माओवादीको मत एक हजार सात सय ३० छ ।