काठमाडौं । कर्णालीका ठूला नेताको गृह जिल्लामै सत्ता गठबन्धन भत्किएको छ । नेताहरुले आ आफ्नै दाबी यथावत राखेपछि आधिकारिक उम्मेदवार को हो ? भन्ने प्रश्न खडा भएको छ । नेपालीका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शाही र कर्णालीका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्लामै सत्ता गठबन्धनमा गडबड् देखिएको हो ।
खड्काको गृह जिल्ला सुर्खेत, महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालीकोट र जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारले आफू नै आधिकारिक भन्दै प्रचार(प्रसार गरिरहेका छन् ।
सुर्खेत क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच विवाद देखिएको छ । सुर्खेत २ (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायको उम्मेदवारी परेको छ । २ (ख)मा माओवादीका विन्दमान विष्ट र एकीकृत समाजवादीका मोहन बडुवाल उम्मेदवार छन् । यी सबैले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै प्रचार गरिरहेका छन् ।
सुर्खेत २ (ख) एकीकृत समाजवादीका उम्मेदवार मोहन बडुवालले गठबन्धन दलबीच सहमति प्रयास भइरहेको भन्दै सहमति नभए मित्रवत प्रतिस्पर्धा हुने बताए ।
एउटा निर्वाचन क्षेत्र रहेको कालीकोटको प्रदेश सभा ‘ख’ मा पनि यस्तै विवाद देखिएको छ । यहाँ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका हिक्मतबहादुर बिष्ट र एकीकृत समाजवादीका बिश्वराज बमको उम्मेदवारी परेको छ ।
कानुनी र नैतिक तथा अन्य कुनै आधारमा आफुले उम्मेदवारी फिर्ता लिन नमिल्ने बमले बताए । गठबन्धन दलबीच सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुने उनको भनाइ छ ।उनले एक चरणको प्रचार–प्रचार गरिसकेर १८ गते जिल्ला समितिको बैठकपछि कार्यक्रम तिव्र पार्ने तयारी भएको जानकारी समेत दिए ।
मुख्यमन्त्री शाहीको गृहजिल्ला हुम्लाको प्रदेशसभा ‘क’ मा पनि आधिकारिक उम्मेदवार को हो ? भन्ने प्रश्न उठे्को छ । यहाँ माओवादी केन्द्रका रनसिंह परियार र एकीकृत समाजवादीका हस्तबहादुर शाही उम्मेदवार छन् । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यद्यपी उनी आफु नै गठबन्धनको आधिकारिक उम्मेदवार भन्दै प्रचारमा हिडिरहेका छन् ।
पूर्वमुख्यमन्त्री शाहीले केन्द्रको सहमति अनुसार कालीकोटमा प्रतिनिधिसभा र प्रदेशसभामा भागबण्डा मिलाईसकेको दाबी गर्छन् । त्यही आधारमा एकीकृत समाजवादीका उम्मेदवार फिर्ता लिने विश्वास व्यक्त गरे । कालीकोटको प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा माओवादी केन्द्र र अर्को कांग्रेसको भागमा परेको छ । त्यही आधारमा गठबन्धन विपरित काम नहुने उनको विश्वास छ ।
मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीले समस्याका विषयमा छलफल भइरहेको बताए । केही दिनमै समाधान हुने विश्वास व्यक्त गर्दै उनले सहमति नभए स्वस्थ प्रतिस्पर्धा हुने प्रष्ट पारे ।