काठमाडौँ । ‘आफ्नै नेतृत्वमा बहुमतको सरकार’ बनाउने नारासहित नेकपा एमाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा होमिएको छ। कात्तिक १८ गते दार्चुला सदरमुकाम खलंगाबाट एमालेले देशव्यापी चुनावी अभियान थाल्दै छ।
यसपटक २०७४ सालमा पार्टीले एक्लै जितेको सिटभन्दा बढी जित्ने एमाले नेताहरूले दाबी गरिरहेका छन्। तर, एमालेले जसपासाथै कतिपय क्षेत्रमा राप्रपासँग समेत तालमेल गरेको कारण प्रतिनिधिसभाका १४१ क्षेत्रमा मात्र उम्मेदवार खडा गरेको छ।
अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाका पाँचमध्ये चार क्षेत्रमा मात्र एमालेका उम्मेदवार छन्। झापा–५ मा ओलीलाई राप्रपाको समर्थन हुँदा झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेको साथ छ। तर, उम्मेदवार बनेका अन्य एमाले पदाधिकारीका क्षेत्रमा तालमेल गरिएको छैन।
मंसिर ४ का लागि चुनावको मिति घोषणा हुँदा एमालेले चुनावी प्रतिस्पर्धामा एक्लै उत्रिने बताएको थियो। उम्मेदवार मनोनयन दर्ताको मिति नजिकिदै जाँदा मधेस प्रदेशमा जनता समाजवादी पार्टी र अन्य केही क्षेत्रमा राप्रपासँग तालमेल गर्ने सहमति गरेको छ।
गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचन परिणामका कारण एमाले सशंकित छ। उसले केन्द्रीय स्तरका नेता सबैलाई चुनावी कार्यक्रममा खटाएको छ। एमालेले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउने, लोकप्रिय मत बढाउनेदेखि पार्टी सदस्यलाई पाँच मत सुरक्षित गराउनेसम्मको रणनीति लिएको छ।
रणनीति १ः ४० जिल्लामा ओलीको सम्बोधन
दार्चुला सदरमुकाम खलंगाबाट कात्तिक १८ गते शुरू हुने एमालेको चुनावी अभियान मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। यसबीचमा ४० जिल्लामा हुने चुनावी सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन्।
पहिलो दिन कात्तिक १८ मा ओलीले दार्चुलासहित सुदूरपश्चिमका तीन जिल्लाका सभालाई सम्बोधन गर्ने सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एक दिनमा तीन वटा जिल्लासम्म पुगेर ओलीले सम्बोधन गर्ने र कुनै जिल्लामा एकभन्दा बढी सभा पनि हुने तालिका बनाइएको छ। ४० जिल्ला पुगे पनि कतिवटा सभा हुने भन्ने अझै यकिन नभइसकेको रिजालको भनाइ छ।
गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि एमाले अध्यक्ष ओली नै अधिकाशं सभामा पुगेका थिए। ‘पार्टीमा अध्यक्षपछि अरू नेताहरू पनि छौँ। तर, जिल्ला तहका नेता, कार्यकर्ता र आम जनसमुदायमा उहाँको नै धेरै क्रेज भएकाले अध्यक्षको बढी व्यस्तता देखिने गरेको हो,” एमालेका एक पदाधिकारी भन्छन्।
एमालेले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेर सत्ता गठबन्धनलाई मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ। सत्ता गठबन्धनबाट भने आउँदो निर्वाचनपछि कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रष्ट छैन। यो विषयलाई पनि एमालेले जनतामाझ लाँदैछ।
रणनीति २ः सत्ता गठबन्धनको औचित्य नभएको प्रचार
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भएका बेला दोस्रोपटक संसद् विघटन गरेपछि उनको कदमविरूद्ध नेपाली कांग्रेस नेतृत्वमा पाँचदलीय गठबन्धन बनेको थियो। सर्वोच्च अदालतको २०७७ असार २८ गतेको आदेशले सरकारबाट हटेदेखि नै एमालेले उक्त गठबन्धन तोड्ने प्रयास गरेको थियो।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनअघि नै गठबन्धन तोड्ने प्रयास सम्भव भएको थिएन। तर, यसपटक गठबन्धनभित्रको एक घटक जसपालाई आफ्नो पक्षमा ल्याएको छ। अब सत्तापक्षीय गठबन्धनको औचित्य नभएको एमालेले प्रचार गर्ने रणनीति बनाएको छ।
एमाले उपमहासचिव विष्णु रिमाल गठबन्धनको भविष्य नै अनिश्चित भएकाले जनतामाझ त्यो विषय लगिने बताउँछन्। “गठबन्धनको भविष्य पनि अनिश्चित छ, नेता को भन्ने पनि अनिश्चित छ,” उनी भन्छन्, “एमालेको अजेन्डा, नेतृत्व लगायत सबै प्रष्ट छ। त्यही भएर चुनाव भनेको जनतालाई प्रशिक्षत गर्ने काम पनि भएकाले हामी त्यसमा केन्द्रित छौँ।”
सत्तामा पुगेर आफू र आफ्ना लागि लाभ लिने काम मात्रै गठबन्धन दलले गरेको भन्दै यसबारे जनतालाई प्रशिक्षत गर्ने एमालेको तयारी छ। उपमहासचिव रिमाल एमालेको राष्ट्रिय आकांक्षा नै गन्तव्य भएको भन्दै गठबन्धनको कुनै राष्ट्रिय आकांक्षा र गन्तव्य नभएको दाबी गर्छन्। उनी भन्छन्, “हाम्रो बाटो निश्चित छ। समृद्ध नेपाल सुखी नेपाली र त्यसको व्याख्याअनुसार लोककल्याणकारी राज्यको अवधारणाअन्तर्गत अगाडि गइरहेका छौँ। तर, गठबन्धन त यसमा प्रष्ट छैन।”
सत्ता गठबन्धनमा रहेका दलहरू एक्लै चुनावमा जान सक्ने हैसियतमा नभएकै कारण राष्ट्रिय शक्तिका रूपमा एमाले देखिएको नेताहरूको बुझाइ छ। एक एमाले नेताले भने, “नितान्त एक्लै हुन्छौँ कि भनिरहेका बेला सत्ता गठबन्धनको एक घटक हामीसँग मिल्न आयो। हिजो हाम्राविरूद्ध उभिएको शक्ति जसपा मिल्न आउँदा त्यसले तराइको राजनीतिक परिदृश्यमा धेरै अर्थ राख्छ।”
रणनीति ३ः लोकप्रिय मत वृद्धि गर्ने
एमालेले आगामी निर्वाचनमा पार्टीको ‘पपुलर’ मतलाई वृद्धि गर्ने र बहुमत ल्याउने दाबी गरिरहेको छ। मत वृद्धिका लागि नै एमालेले ‘पार्टी क्रस, लाख प्लस’ अभियान सञ्चालन गरेको थियो। त्यो भनेको विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा ल्याउने रणनीति थियो।
एमाले उपमहासचिव रिमालले अभियान सार्थक भएको दाबी गरे। “हामीले पार्टी क्रस लाख प्लस कार्यक्रमबाट तीन महिनामा डेढ लाख मानिस भित्र्याएका छौँ,” उनले भने, “अहिले पनि त्यो क्रम जारी नै छ।” पार्टी फुट्दा नेकपा एकीकृत समाजवादीतर्फ लागेका नेता, कार्यकर्ता फर्काउने अभियानसमेत एमालेले चलाइरहेको छ।
स्थानीय तहको निर्वाचनअघि पनि नेकपा एमालेले पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाएको थियो। अहिले पनि एमालेले पार्टी प्रवेश कार्यक्रम चलाइरहेको छ। रिमाल भन्छन्, “स्थानीय तहको भन्दा एमालेले ६ लाख बढी पपुलर मत पाउँदैछ। त्यसले पार्टीको समानुपातिकतर्फ सिट बढ्नेछ।”
वैशाखमा सम्पन्न निर्वाचनमा एमालेले देशभरबाट ३८ लाख १ हजार ३४७ मत प्राप्त गरेको थियो। २०७४ को आम निर्वाचनमा एमालेको समानुपातिकतर्फको मत ३१ लाख ७३ हजार ४४९ थियो। एमाले प्रचार विभाग उपप्रमुख रिजाल चौतर्फी घेराबन्दीका बीच गएको वैशाखमा स्थानीय निर्वाचनमा पपुलर मत बढेको बताउँछन्। “सत्ता गठबन्धन एकातिर र हामी एक्लै चुनावमा प्रतिस्पर्धा गर्दा पनि पपुलर मतमा पहिलो दल बन्यो,” उनी भन्छन्, “त्यो परिणामले पनि नेता कार्यकर्तामा आत्मविश्वास थपिएको छ। अहिले थप सहज हुन्छ।”
रणनीति ४ः प्रत्येक पार्टी सदस्यले ३ मत सुनिश्चित गर्ने, २ थप्ने
एमालेले चुनावमा बढीभन्दा बढी सिट जित्नका लागि केन्द्रीय नेताहरूदेखि पार्टी सदस्यसम्मलाई परिचालन गरेको छ। उसले हरेक पार्टी सदस्यलाई कम्तिमा पाँच मत जुटाउन निर्देशन दिएको छ।
हरेक सदस्यलाई अनिवार्य रूपमा ३ मत सुनिश्चित गर्ने र २ मत थप्ने अभियानमा लाग्न भनिएको छ। यसले पनि आसन्न चुनावमा एमालेको पक्षमा राम्रो जनमत निर्माण हुने र त्यसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पार्टीले राम्रो मत ल्याउने रिमालले बताए।
“प्रत्येक पार्टी सदस्यले ३ मत सुनिश्चित गर्ने २ मत थप्ने पार्टीको योजनाले राम्रो काम गरेको छ,” उपमहासचिव रिमालले भने, “यसमा हाम्रा सबै सदस्य खटिनुभएको छ। त्यसले राम्रो प्रभाव पार्छ।” देशभर साढे ८ लाख पार्टी सदस्य रहेको एमालेले जनाएको छ।
रणनीति ५ः जसपा र राप्रपाको मत ‘सूर्य’मा खसाउने
मधेस प्रदेशमा जसपा र अन्य केही क्षेत्रमा राप्रपासँग तालमेल गरेपछि एमालेलाई ती दलका समर्थकको मत सूर्य चिह्नमा खसाउने चुनौती छ। तालमेलका कारण सत्ता गठबन्धनमा रहेका दलभन्दा कतिपय क्षेत्रमा एमाले बलियो भएको छ। गत स्थानीय तहको निर्वाचनमा पाएको मतलाई हेर्दा जसपा र राप्रपासँगको सहकार्यले केही फाइदा पुग्ने देखिन्छ।
त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नेमा एमाले आफूले पनि प्रतिबद्धता जनाएको छ र अन्य दललाई पनि त्यसैअनुसार तयारी गर्न आग्रह गरेको छ। “शक्ति वृद्धि गर्नका लागि केही ठाउँमा हामीले तालमेल गरेका छौँ। हाम्रा अजेन्डामा पनि हामीले अरुलाई सहयोग गर्नुस् भनिरहेका छौं,” उपमहासचिव रिमाल भन्छन्।
उनका अनुसार २०७४ सालको आम निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमालेले दुई सिटमा मात्रै जित हात पारेको थियो। तर, आसन्न निर्वाचनमा कम्तिमा १० सिट जित्ने उसले अनुमान गरेको छ। जसपासँगको तालमेलकै कारण जित सम्भव हुने एमाले नेताहरू बताउँछन्।
यस्तै राप्रपासँग पनि एमालेले झापा, रूपन्देही, बाँकेलगायत जिल्लामा चुनावी तालमेल गरेको छ। त्यसले पनि सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न सहज हुनेएमालेको अनुमान छ। एमाले र जसपाबीच भएको सहमति अनुसार एमालेले १७ सिट जसपालाई दिएको छ। एमालेले उम्मेदवार बनाएका ३५ निर्वाचन क्षेत्रमा जसपाले एमालेलाई सहयोग गरेको छ।
एमालेको सूर्य चुनाव चिन्ह लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट चुनाव लड्दै छन्। एमालेले केही क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएकालाई पनि समर्थन गरेको छ।
रणनीति ६ः बागीलाई कारबाही, एकताबद्ध भएको सन्देश
पार्टीले टिकट नदिएपछि नेता घनश्याम भुसालले रूपन्देही–१ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिए। उक्त क्षेत्रमा एमालेले पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ।
पार्टी निर्णय विपरीत बागी उम्मेदवारी दिएपछि भुसाललाई एमालेले कारबाही गरेको छ। उनी पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन्। हुनतः एमालेले उक्त निर्णय गर्नुअघि नै भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
यस्तै रौतहट–३ मा पार्टीले टिकट दिए पनि नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। पार्टीको सिफारिस पत्र खल्तीमा हालेर बसेका उनले अन्तिममा आफू निकट अन्य नेता कार्यकर्ताले टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिए। उनलाई पनि पार्टीले निष्कासन गरिसकेको छ।
विभिन्न क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवारकाविरूद्ध मनोनयन दर्ता गरेका नेता कार्यकर्तालाई पनि एमालेले कारबाही गरिसकेको छ। “पार्टी नै छोडेर जानेहरूको असन्तुष्टि व्यवस्थापन गर्न सकिँदैन। बाँकीहरूको हकमा पार्टीले कारबाही गरिसकेको छ,” प्रचार विभाग उपप्रमुख रिजाल भन्छन्, “अहिले असन्तुष्टि भन्ने छैन। एकताबद्ध भएरै सबै जना निर्वाचन होमिएका छन्।”
एमालेका उपमहासचिव विष्णु रिमाल पार्टीभित्र अहिले कुनै असन्तुष्टि र असमझदारी नभएको दाबी गर्छन्। “स्थानीय तहको निर्वाचनमा नेकपा फुटेर तीनवटा बनेको भन्ने जुन सन्देश थियो त्यसको अहिले अन्त्य भएको छ । माओवादी र समाजवादीले कति क्षति गर्नुभयो भन्ने मानिसले बुझिसकेका छन्,” उनले भने।
अध्यक्ष ओलीले पनि चुनावीसभामा पार्टीभित्र कुनै असहमति र असमझदारी नभएको बताउँदै आएका छन्। नेता विष्णु रिजाल स्थानीय चुनावका क्रममा देखिएका अन्तर्घात, मतभेद र असमझदारी हटिसकेको दाबी गर्छन्।
अध्यक्षसहितका नेताहरूले असन्तुष्टि र असमझदारी नभएको बताए पनि एमालेका एक स्थायी कमिटी सदस्य कार्यकर्तालाई हौसला दिन मात्र नेतृत्वले त्यस्तो बताइरहेको बताउँछन्। “बाहिर भने जस्तै सबै असन्तुष्टि र असमझदारी हटेको छैन। टिकट नपाएका र अन्य विभिन्न कारणले कतिपय नेता कार्यकर्तामा असन्तुष्टि कायमै छ,” उनले भने, “यी कुरा नेतृत्वले समयमा नबुझ्दा चुनावमा त्यसको असर त पर्छ नै।”
रणनीति ७ः समानुपातिकमा ५० र प्रत्यक्षमा १०० सिटको लक्ष्य
एमालेले चुनावमा २०७४ सालमा गरेको प्रतिबद्धताअनुसार नै बाँकी रहेका कामहरू सम्पन्न गर्ने भन्दै आउँदो चुनावमा केन्द्रित भएको छ। उसले मतदाता समक्ष यही प्रतिबद्धता लिएर जाँदैछ।
“०७४ सालमा गर्छौं भनेका थियौं, त्यो बाँकी रहेको काम गर्ने हो। एउटै पार्टी बनाउने भनेर यसअघिको निर्वाचनमा तालमेल भएको थियो। तर, साथीहरूले जनमतलाई खन्डित गरेर जानुभयो भनेर जनतालाई भन्छौं,” उपमहासचिव रिमाल भन्छन्।
एमालेले आउँदो चुनावमा समानुपातिकतर्फ ५० र प्रत्यक्षतर्फ १०० सिट जितेर बहुमत ल्याउने दाबी गरिरहेको छ। गृहजिल्ला झापामा रहेका एमाले अध्यक्ष ओलीले पनि आउँदो चुनावमा एमालेले समानुपातिकसमेत गरेर १५० सिट जित्ने दाबी गरिरहेका छन्। एमालेका अन्य नेताहरूले पनि चुनावी सभामा एमालेले बहुमत ल्याउने बताउँदै आएका छन्।
मतदाता र नेता कार्यकर्ताको मनोबल उच्च बनाउन एमालेले १५० सिट जित्ने दाबी गरे पनि प्रत्यक्षतर्फ जित्ने सिट संख्यामा भने नेताहरू नै विश्वस्त देखिँदैनन्। “प्रत्यक्षमा १०० सिट जित्छौँ भने पनि भित्रको आकलनमा भने केही कम हुन्छ,” एक पदाधिकारी भन्छन्, “कम्तिमा ४० देखि ४५ सिटमा जित हासिल हुन्छ भन्ने आकलन गरिएको छ।”
-उकालोबाट