ललितपुर । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत मनाउन थालिएको छ ।
सूर्य उपासना गरी मनाइने छठ अर्थात् छठै, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन लागिएको छ । काठमाडौंको रानीपोखरी, बागमती नदी, गोदावरी खोलालगायत विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा गरिन्छ । सरकारले छठ पर्वका अवसरमा नेपालभर सार्वजनिक बिदा समेत दिएको छ ।
दशैं र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजा अर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । पञ्चमी ९खर्ना० देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छन् । तर अहिले सहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्नुहुन्छ, “पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो । सामान नपाउँदा तराईको घर छठ मनाउन जान बाध्य हुनुपर्थ्यो । अहिले भव्यताको साथ यहीँ पोखरीमा साथीसँग मिलेर छठ मनाउने गर्छु ।”
यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।
परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्यदिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ ।