मोरङ । मोरङ क्षेत्र नं ३ मा राप्रपा उम्मेदवार रेखा थापाको बढ्दो सक्रियताले बेग्लै माहोल सिर्जना गरिदिएको छ।
राजनीतिक पृष्ठभूमि नभएकी र कमजोर संगठनबाट उम्मेदवारी दिए पनि थापाको बढ्दो चर्चाका कारण मुख्य प्रतिष्पर्धी नेकपा एमाले र कांग्रेसका उम्मेदवारलाई टाउको दुखाइको विषय भएको छ। कतिपय स्थानीयबासीले एमाले र काँग्रेसका उम्मेदवारका विकल्पका रुपमा थापालाई हेरेको देखिन्छ।
प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनौटप्रति असन्तुष्टि जनाउँदै कांग्रेस र एमालेमा नेताहरुले पार्टी परित्याग गरेको अवस्था छ। कांग्रेसका २ जनाले प्रतिनिधिसभामा बागी उम्मेदवारी दिएका छन्। गणेशप्रसाद पोखरेल र जयराज संयोगले बागी उम्मेदवारी दिएका हुन्। बेलबारी नगरपालिकामा ०७४ मा कांग्रेसबाट प्रमुख पदमा पराजित राजकुमार लिम्वुले पार्टी परित्याग गरेका छन्। यस क्षेत्रमा कांग्रेस उम्मेदवार सुनिल शर्मा र एमालेका उम्मेदवार भानुभक्त ढकाल छन् । तर नेकपा एमालेमा पनि टिकट वितरणका असन्तुष्टि उत्तिकै छ। क्षेत्र नं ३ मा रहेका संविधानसभा सदस्य मधु गुरुङ, एमाले प्रदेश सचिवालय सदस्य रामकुमार वस्नेत लगायतका नेताहरुले पार्टी जिम्मेवारी त्यागेका छन्। एमालेको प्रतिनिधिसभा भन्दा पनि प्रदेशसभाका उम्मेदवार छनौटमा असन्तुष्टि देखिएको हो।
यस्तो छ अंकगणित
क्षेत्र नं ३ मा सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वटा वडा पर्छन्। ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका ढकालले ४२ हजार ४१३ र नेपाली कांग्रेसका डा सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गरेका थिए। ५ वर्ष पछि पुनः ढकाल र शर्मा नै मुख्य प्रतिष्पर्धामा छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले क्षेत्र नं ३ अन्तर्गतका चारवटै स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ। बेलबारी नगरपालिकाको उपप्रमुख बाहेक एमालेले तीन पालिकाको प्रमुख–उपप्रमुख सहित बहुमत वडाध्यक्ष जितेको छ। वडाध्यक्षले २६ वटा वडामा पाएको मतका आधारमा एमाले थोरै मतले अघि छ। एमालेले वडागत रुपमा ३७ हजार ४१० मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले वडागत रुपमा ३७ हजार ७६ मत प्राप्त गरेको छ। एमालेले १४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ११ वडामा जित हासिल गरेको छ। एउटा वडा स्वतन्त्रले जितेको छ। क्षेत्र नं ३ मा माओवादीले ७ हजार तीन सय ७३, राप्रपाले २ हजार १२१ मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १ हजार ८५५ मत ल्याएका थिए। वडागत मतका आधारमा एमाले अघि देखिए पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका कारण गठबन्धनको मत बढी छ।