काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका सबै वडा, काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ र कागेश्वरी मनोहरा नगरपालिकाका १, २ र ३ नम्बर वडा रहेको काठमाडौं ३ मा कांग्रेस र एमालेबीच एक्लाएक्लै हुने प्रतिस्पर्धाले साच्चिकै चुनावलाई रोचक प्रतिष्पर्धामा लैजाने धेरैको अनुमान छ ।
देशका सबैजसो क्षेत्रमा गठबन्धन हुँदा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन काठमाडौं–३ मा पनि टुटेको छ ।
काठमाडौं १० मा पनि यो गठबन्धनका छुट्टाछुट्टै उमेदवार छन् । त्यसैले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छुट्टै गठबन्धन बनाएर क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले भने एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।
०७४ सालमा चार हजार बढी मतले जितेको नेकपा एमाले गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसभन्दा ९१९ मतले पछाडि परेको थियो । यो उक्त क्षेत्रका वडाध्यक्षले पाएको मत हो ।
स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षका उमेदवारले पाएको मतलाई सोही पार्टीको मतका आधारमा विश्लेषण गर्ने गरिएको छ ।
०७४ को निर्वाचनमा एमालेका कृष्ण राईले १९ हजार १६९ मत ल्याउँदा कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाउनुभएको थियो ।
तर, स्थानीय तह निर्वाचनमा भने यो क्षेत्रमा कांग्रेसले १५ हजार ७९५ मत पाउँदा एमालेले १४ हजार ८७६ मत पाएको छ ।
स्थानीय तह निर्वाचनमा माओवादीले भने १७३० मत मात्र यस क्षेत्रमा पाएको छ ।
यसपटक कांग्रेस र एमाले एक्लाएक्लै भिड्दैछन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको छुट्टै गठबन्धन बनेको छ ।
अन्यत्र एमालेसँग गठबन्धन गरेको राप्रपाले पनि काठमाडौं–३ मा छुट्टै प्रतिस्पर्धा गर्दैछ । त्यसैले काठमाडौं ३ को निर्वाचन थप रोचक बन्दैछ ।
काठमाडौं ३ मा प्रतिनिधिसभाका लागि ८ जना स्वतन्त्रसहित २३ जनाले उमेदवारी दिएका छन् । तर विगतको भोटका आधारमा मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उमेदवारकै बीच हुनेछ ।
यो क्षेत्रमा कांग्रेसले गोकर्णेश्वर नगरपालिकाका निवर्तमान मेयर सन्तोष चालिसेलाई उमेदवार बनाएको छ ।
एमालेले भने यही क्षेत्रमा ०७४ सालमा जितेका पोलिट्ब्युरो सदस्य कृष्ण राईलाई दोहोर्याएको छ ।
तुलनात्मक रुपमा राम्रै मत रहेको कांग्रेस यो क्षेत्रमा लगातारजस्तै हार्दै आएको छ । ०६४ सालमा चक्रबहादुर ठकुरीले जितेको यो क्षेत्रमा ०७० सालमा उनै ठकुरी पराजित हुनुभएको थियो ।
कांग्रेसमा देखिएको असन्तुष्टि र एमालेप्रति जनतामा देखिएको लहरले जित सुनिश्चित भएको नेकपा एमालेको दाबी छ ।
स्वतन्त्रमध्येका अधिकांश उमेदवार कांग्रेस समर्थक भएको भन्दै एमालेको पार्टीभित्रको भावनात्मक एकता जितका लागि पर्याप्त रहेको उनीहरुको बुझाई छ ।
प्रदेश ख तर्फका एमाले उमेदवार रामेश्वर फुयाँलले कांग्रेसमा उमेदवारी चयनदेखि नै असन्तुष्टि रहेकोलेकांग्रेसमा प्रदेशदेखि संघसम्म स्वतन्त्र उमेदवारी परेको बताउनुभयो ।
एमालेमा सर्वसम्मत उमेदवारी र पार्टीभित्रको एकताले एक मत पनि बिग्रन नदिने भन्दै त्यसमा जनताको साथ पनि हुने उहाँको दाबी छ ।
विगतमा जनताले जिताएपछि संघबाट कृष्ण राईले र प्रदेशमा सांसद हुँदादेखि मन्त्री हुँदासम्म आफूले पर्याप्त काम गरेकाले जनताको पहिलो रोजाइमा एमाले परेको संघ र प्रदेशका सबै क्षेत्रमा एमाले विजयी हुने फुयाँलको भनाई छ ।
यो क्षेत्रमा माओवादीका बद्रीप्रसाद बजगाइँलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ । राप्रपाका तर्फबाट भने गणेश गिरी उमेदवार बन्नुभएको छ ।