काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरुले एक्ला एक्लै चुनाव लड्ने तयारी गरेका छन् ।
तीन महिनादेखि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयासले अन्तिम समयसम्म पनि सार्थकता पाउन नसकेपछि गठबन्धनका दलहरुले एक्ला एक्लै चुनाव लड्ने तयारी गरेका हुन् । गठबन्धनका शीर्ष नेताहरुबीच पछि पटक हुँदै आएको छलफल विना निष्कर्ष टुंगिदै आएको छ । दशैंकाबीचमा नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।
कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको सञ्चारमन्त्री तथा कार्यदल सदस्य ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।
यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समाजवादी र जसपाको अडानका कारण सहमति पुग्न नसकिएको बताउनुभयो । जसपाले सिट संख्यामा चित्त बुझाएको छैन । उसले कोशीपूर्व र नारायणी पश्चिमका केही क्षेत्र आफूहरुले पाउनुपर्ने अडान राख्दै आएको छ ।
जसपाले धनुषा र सप्तरीका केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि प्रस्ताव समेत राखेको पौडेलले बताउनुभयो ।
यता एकीकृत समाजवादीले पनि सिट संख्या बढाउनुपर्ने अडान यथावत राखेको छ । गठबन्धनका शीर्ष नेताहरुबीच पछिल्लो समय त्यही अडानका विषयमा छलफल भएको छ ।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ । तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।
यस्तै प्रदेशसभाको सिट बाँडफाँट पनि पेचिलो देखिएको छ । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि गठबन्धनको विकल्पमा जसपाले अन्य पार्टीसँग पनि तालमेलका लागि संस्थागत रुपमा ढोका खुला गरेको छ ।
निर्वाचन आयोगले असोज २३ गते उम्मेदवारी दर्ताको कार्यसूची तय गरेको छ । त्यही कुरालाई ध्यानमा राखेर गठबन्धनका दलहरुले दैनिकजसो छलफल गर्दै आएका छन् ।