काठमाडौं । आज बडा दसैंको सातौँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।
पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ ।
करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।
शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभित गर्नेवाला छ । कपाल फिजाएको छ भने उनको चार हात छन् । विद्युतको माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ ।
चार हातमध्ये एक हातमा तरवार एकमा काटिएको शीर र अर्को हालमा काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ । देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभफल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ ।
कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रास समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।
यस्तै आज देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती समेत भित्र्याइँदै छ। घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ।
नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ।
आजको दिन नै हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले फूलपाती बोके ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहदै आएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ। नेपाली सेनाले पनि सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गर्दछ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुँइचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।