काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवारका नाम सार्वजनिक गरेको छ ।
स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ बाट सत्याग्रही अभियन्ता पुकार बमले उम्मेदवारी दिनुहुने भएको छ । उठ्दैछन्। यस्तै काठमाडौं क्षेत्र नम्बर १० बाट सामाजिक अभियन्ता प्रदीप विष्ट उम्मेदवार हुने उक्त पार्टीले जानकारी दिएको छ।
शिक्षा अभियन्ता तथा उद्यमी शिशिर खनालको उम्मेदवारी काठमाडौं ६ मा पक्का भएको छ । उहाँ टिचफर नेपालका सहसंस्थापक हुनुहुन्छ ।
यस्तै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ । डाक्टर तेसिमा कार्कीले ललितपुर ३, कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तय भएको स्वतन्त्र पार्टीले बताएको छ।
बागलुङ २ बाट सामाजिक अभियन्ता तिला खत्री, मुस्ताङबाट ग्रामीण क्षेत्र विकासका विद्यार्थी सुदेश गुरूङ र सिन्धुपाल्चोकबाट पर्वतारोही माया गुरूङ उम्मेदवार हुने टुंगो लागेको छ।
उता झापा ४ बाट पूर्वप्रहरी शम्भुप्रसाद ढकाल, झापा ३ बाट कृषक प्रकाश पाठक र झापा १ बाट ओमनाथ भण्डारीले उम्मेदवारी दिने पक्का भएको छ ।
पार्टीका सभापति रवि लामिछाने भने कहाँबाट चुनाव उठ्ने भन्ने टुंगिएको छैन।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले असोज २३ मा उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।