काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि दलहरुले पेश गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ ।
४८ वटै दलले पेश गरेको बन्दसूची कानूनी व्यवस्थाअनुसार नमिलेको भन्दै आयोगले दलहरुलाई कानूनी व्यवस्थाअनुसार सच्याउन पत्राचार गरेको छ ।
यस्तै, सात वटै प्रदेशमा २३७ दलले बन्दसूची पेश गरेकोमा २१३ दलले पेश गरेको बन्दसूची कानूनअनुसार नमिलेकाले पत्राचार गरिएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता तथा आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो । प्रदेश एकमा ३३ दल, मधेश प्रदेशमा ३४ दल, वागमती प्रदेशमा ३७ दल, गण्डकी प्रदेशका २३ दल, लुम्बिनी प्रदेशका ३० दल, कर्णाली प्रदेशका २७ दल र सुदूरपश्चिम प्रदेशका २९ दलले पेश गरेको बन्दसूची नमिलेको उहाँले बताउनुभयो ।
आयोगका अनुसार प्रदेश एकमा दर्ता भएकोमा ३ दल, मधेश प्रदेशमा २ दल, बागमती प्रदेशमा ७ दल, गण्डकी प्रदेशमा ८ दल, लुम्बिनीमा २ दल, कर्णालीमा एक दल र सुदूरपश्चिममा ५ दलले मात्रै बन्दसूची कानून अनुसार पेश गरेका छन् ।
राजनीतिक दलले बुझाएको बन्दसूचीमा कुनैको समावेशी समूह नमिलेको, कुनैको बन्दसूचीमा परेका उम्मेदवारको मञ्जुरीमा पेश नभएको, कुनैमा मतदाता नामावलीको नाम र बन्दसूचीमा पेश भएको नाम नमिलेको र कुनै दलको बन्दसूची पेश गरेका उम्मेदवारको स्वघोषणा पेश नभएको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यतालिकाअनुसार असोज १० गते अर्थात आजदेखि असोज १६ गतेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची संशोधन गरेर पेश गर्ने कार्यतालिका छ । यस्तै, १७ गते उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा निवेदन दिनुपर्नेछ । १७ गते नै उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिनुपनेछ ।
यस्तै, असोज २० गतेदेखि २२ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ । २२ गते नै आयोगले उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशित गर्नेछ ।
असोज २३ गतेदेखि २९ गतेसम्म उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिनुपर्नेछ । असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय गरिनेछ ।
कात्तिक ८ गते उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन हुने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन भइ मंसिर ४ गते निर्वाचन हुनेछ ।