काठमाडौँ । सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।
दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले ‘रुट परमिट’ खुला गरेको हो । यो व्यवस्था दसैँको पूर्णिमा अर्थात असोज २३ गते सम्मका लागि खुला रहनेछ ।
यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ।
दसैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताउनुभयो।
काठमाडौँबाट मात्रै होइन, उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आआफ्नो घर जाने गरेका छन्।
कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ।
यसबीचमा अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन भने चल्न पाउने छैनन्। विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म ठूला गाडी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।
यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो। कतिपय यात्रु यो महिनाको सुरुदेखि नै जान थालेका छन् भने यो सङ्ख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ। सबैभन्दा बढी चाप फूलपाती पछि हुने उहाँले बताउनुभयो ।
दसैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्र यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ।
सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभी इक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न सडक विभागलाई महासङ्घले अनुरोधसमेत गरेको छ।