काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन ।
गत साउन २० मा कार्यदल नै बनाएर सहमतिका लागि निरन्तर छलफल गर्दै आएको गठबन्धनका दलहरुले अझै सहमति जुटाउन सकेको छैन । गठबन्धनका दलहरूबीच करिब दुई महिनाअगावै चुनावी तालमेल गर्ने सहमति भए पनि १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्य निर्वाचनका लागि कुन दलले कति र कहाँ सिट लिने भन्ने टुंगिएको छैन ।
लामो प्रयासबाट समेत दलहरुबीच सहमतिको वातावरण बन्न नसकेपछि गठबन्धनको भविष्यमाथि नै आशंका गरिन थालेको छ । गठबन्धनका दलहरुले एकले अर्कोलाई सहमतिको बाधक बनेको टिप्पणी गर्न थालेका छन् ।
यसैबीच, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले कांग्रेसले बढी सिट मागेकाले सहमति जुट्न नसकेको आरोप लगाएका छन् । काँग्रेसको अडानका कारण गठबन्धनको औचित्य नै समाप्त हुन लागेको उनीहरुको भनाइ छ । काँग्रेसको शेखर कोइराला समूहले पनि गठबन्धनका नाममा आफूहरुलाई अन्यायमा पारे त्यो काँग्रेसकै लागि घातक हुने चेतावनी दिएका छन् । यसबारेमा छलफल गर्न शेखर समूहले शनिवार छुट्टै भेला बोलाएको छ ।
उता कांग्रेसले बढी सिट मागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार बिहान कांग्रेसविरुद्ध मोर्चाबन्दी गर्ने विषयमा छलफल भएको थियो ।
यसैबीच सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक शनिवार बिहान पुनः बस्दै छ ।
शुक्रबारका लागि बोलाइएको बैठक शनिवार विहान बस्न लागेको एक नेताले जानकारी दिए ।