काठमाडौं । छिमेकी राष्ट्र भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणदर बढ्दै गएको छ ।
त्यस्तै, चीनमा पनि सङ्क्रमणदर बढेपछि केही शहरमा बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । चीन र भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुलाई विज्ञहरुले चौथौ लहर फैलिन सक्ने चेतावनी दिएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी विश्वबाट हटेको घोषणा गरिसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा औसत कोरोना भाइरसको सङ्क्रमणदर ०.४ प्रतिशतमा झरेको छ ।
नेपालमा सङ्क्रमणदर कम भएको तर शून्यमा नझरेको र विश्वका विभिन्न देशमा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले नेपालमा पनि सङ्क्रमणको जोखिम कायमै छ । त्यसैले सभा, भेला, सम्मेलमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन सरकारले आग्रह गर्दै आएको छ ।
गाउँदेखि सहरसम्म हुने चुनावी कार्यक्रम, सभा सम्मेलनमा सहभागी हुँदा जनस्वास्थ्यका मापदण्ड पालन गर्न बिर्सन नहुने जनस्वास्थ्यविद्हरुको सुझाव छ ।
भारतमा सङ्क्रमण फैलिएको १५ दिनभित्र कोरोना नेपालमा पनि फैलने गरेको विगतले देखाउँछ । त्यसैले नेपालमा पनि पुन सङ्क्रमण बढ्न सक्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पनि कोरोनाको जोखिम घटिनसकेको बताउनु हुन्छ ।
डा पुनले भन्नुभयो, “अहिले चीन र भारतमा फैलिएको सङ्क्रमण ओमिक्रोनको परिवर्तित स्वरुप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ओमिक्रोनको सङ्क्रमणदर बढी भएकाले नेपालमा पनि सङ्क्रमण फैलन सक्ने र उत्सर्गमा पुग्न सक्ने देखिन्छ ।”
चीनमा र भारतलगायत विश्वका विभिन्न देशमा सङ्क्रमणको सङ्ख्या बढे पनि अस्पतालमा भर्ना भएका घटना न्यून सङ्ख्यामा छन् । त्यसैले कोरोना सङ्क्रमण नेपालमा बढ्न सक्ने सम्भावना भए पनि जटिलता कम हुने डा पुनको विश्वास छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या पनि धेरै नै छ ।
“नेपालमा सङ्क्रमण फैलिए पनि धेरैले खोप लगाइसकेकाले त्यति जटिल अवस्था नआउन सक्छ,” उहाँ भन्नुहुन्छ । तर खोप नलगाएका तर सङ्क्रमित भएका व्यक्तिहरु चुनावी अभियान र मतदानमा सहभागी भएमा उनीहरुबाट कोरोना सङ्क्रमण फैलने जोखिम बढी हुने चिकित्सक बताउँछन् ।
कोरोनाको सङ्क्रमण दर घटेको र खोप लगाइसकाले धेरैले हेलचेक्राइँ गर्ने गरेको चिकित्सक बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्दा गर्मी मौसममा हुने अन्य सरुवा रोगबाट पनि बच्न सकिने डा पुन बताउनुहुन्छ ।
डा पुन भन्नुहुन्छ, “कोरोना सङ्क्रमणका कुरा मात्रै नभएर ठूलो जमघटमा अन्य सङ्क्रमणजन्य रोगहरु सर्न सक्ने सम्भावना भएकाले अनिवार्यरुपमा मास्क प्रयोग र हातको सरसफाइतर्फ ध्यान दिनुपर्छ । चुनावमा कम्तीमा अनिवार्यरुपमा मास्क लगाए पनि कोरोना फैलिने सम्भावना कम हुन्छ ।”