काठमाडौँ । कोरोनाविरुद्धको खोप लगाउने मानिस नहुँदा धेरै मात्रामा खोप खेर जान थालेको छ ।
काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले पछिल्लो समय खोप लगाउन मानिस नआउँदा खोप खेर जान थालेको बताउनुभयो । विशेष गरी भण्डारणको व्यवस्थाका कारण मोडर्ना खोप धेरै खेर गएको उहाँले बताउनुभयो । तीन हजार मात्रा खोप मानिसले लगाउन नआउँदा खेर गएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले पछिल्लो समय मानिस खोप लगाउनै नआएको बताउनुभयो ।
मोर्डना खोप माइनस २५ डिग्रीमा राख्नुपर्ने हुन्छ । उक्त खोप माइनस २५ डिग्रीबाट निकालिसकेपछि माइनस दुईदेखि आठ डिग्रीमा राखेर एक महिनाभित्र लगाउनुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार देशभर १० हजार मात्रा मोडर्ना खोप खेर गएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्र तीन हजार मात्रा मोर्डना खोप खेर गएको छ ।
यो खोप माइनस २५ डिग्रीको भण्डारणबाट निकालेर २ देखि ८ डिग्रीमा भण्डारण गर्न थालेपछि एक महिनाभित्र लगाइसक्नुपर्छ, नत्र खोप स्वतः खेर जान्छ । यसरी एक महिनासम्म नलगाउँदा केही ठाउँमा केही मात्रामा खोप खेर गएको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार खोप निकालेको एक महिनासम्म पनि मानिस मोर्डना खोप लगाउन नआएका कारण प्रयोग गर्न नमिल्ने भएको हो ।
काठमाडौँ जिल्लाका लागि लगाउन छुट्याइएको तीन हजार मात्रा मोडर्ना खोप लगाउने मानिस नहुँदा खेर गएको हो । ”
सरकारले मानिस कोरोनाविरुद्धको खोप लगाउन नआएका कारण बुस्टर डोज पूर्ण खोप लगाएको तीन महिनामै लगाउन पाइने निर्णय गरेको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको छ महिनापछि मात्र बुस्टर डोज खोप लगाउन मिल्दथ्यो । खोप शाखा प्रमुख सागर दाहालले चार करोड खोप अभियान सञ्चालन गर्दा पाँचदेखि १० प्रतिशत खोप खेर जानु सामान्य भएको बताउनुभयो । उहाँले खोप अभियानमा शतप्रतिशत खोप प्रयोग कतै पनि नहुने बताउनुभयो ।
हालसम्म नेपालमा ३७ लाख मात्रा मोडर्ना खोप नेपाल आइसकेको छ । नेपालमा १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूलाई मोडर्ना खोप दिइएको थियो । १८ वर्षमाथिका उमेर भएका मानिसले पनि मोडर्ना खोप लगाउन सक्छन् ।