काठमाडौं । चन्द्रागिरी केवलकार मंगलबार दिउँसो आधा घन्टाभन्दा बढी समय रोकिएको खुलासा भएको छ ।
केवलकार रोकिँदा ३६ जना यात्रारत थिए । लामो समयसम्म केवलकार भित्र थुनिँदा यात्रुहरुमा कोलाहल मच्चिएको थियो ।
मंगलबार दिउँसो २ बजेतिर चलिरहेको केवलकार अचानक रोकिएपछि यात्रुहरू केही समय पुनः सुचारु हुने आशामा बसेका थिए । पाँच, दश, पन्ध्र मिनेट हुँदै आधा घन्टासम्म सुचारु नभएपछि यात्रुहरू केवलकारबाटै चिच्चाएका थिए ।
केवलकारको तारमा झुन्डिएको डब्बामा लामो समयसम्म थुनिएर बस्दा यात्रुहरूबीच कोलाहल मच्चिएको थियो । त्यसपछि उद्धारका लागि थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रहरीलाई बोलाइएको थियो ।
साढे दुई बजेतिर केवलकार रोकियो भनेर खबर आएपछि टोली परिचालित भएको प्रहरी निरीक्षक मनोज श्रेष्ठले बताउनुभयो । केवलकारको डब्बामा अड्किएका ३६ जनाको आधा घन्टा लगाएर उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
उद्धार गरेर डब्बाबाट बाहिर निस्किँदा यात्रुहरू निकै अत्तालिएका थिए । कुनै अप्रिय घटना नहोस् भनेर पहिले नै त्यहाँ नेपाल प्रहरीको विपद् उद्धार टोलीसमेत खटाइएको थियो । डोरीमा गएर निकाल्नुपर्ला भनेर विपद् उद्धार टोली राखिएको भए पनि त्यसो गर्नुनपरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
विस्तारै डोरी तानेर केवलकारका डब्बालाई स्टेसनसम्म ल्याइएको थियो । केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा चन्द्रागिरीको चुचुरोमा रहेको भालेश्वर महादेव मन्दिर वरपर चार सयको हाराहारीमा यात्रुहरू थिए । उनीहरू फर्कन पालो कुरेर बसेका थिए ।
यस विषयमा के भएको हो ? भनी चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेकविक्रम शाहसँग बुझ्दा उहाँले विद्युतमा समस्या आएका कारण केवलकार छोटो समयको लागि रोकिएको दाबी गर्नुभयो । केवलकारमा त्यस्तो ठूलो समस्या आएको नभई विद्युतमा समस्या आएका कारण ५–६ मिनेट केवलकार रोकिएको उहाँको दाबी थियो । हाइभोल्टेजका कारण ट्रान्समिटर पड्किदा केवलकार रोकिएको उहाँले जानकारी दिनुभयो ।
तर शाहले भनेजस्तो मंगलबार चन्द्रागिरी क्षेत्रमा विद्युतमा कुनै समस्या नआएको नेपाल विद्युत प्राधिकरणको वलम्बुस्थित नो लाइट प्रमुख आशुतोष कर्णले जानकारी दिनुभयो । चन्द्रागिरीको आन्तरिक ट्रान्समिटर बिग्रेको हुनसक्ने तर प्राधिकरणको लाइनमा भने खराबी नभएको कर्णले बताउनुभयो ।
मंगलबारकै घटना भए पनि यसबारे बुधबार मात्र खबर बाहिरिएको थियो ।