दार्चुला । महाकाली नदीमा ढुंगा निकाल्दै नेपाली क्षेत्रमा पुगेको भारतीय जेसिबिको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ कलोन क्षेत्रमा महाकाली नदीमा ढुंगा निकाल्दै, धार परिवर्तन गर्दै भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरीले जेसिबिको चाबी नियन्त्रणमा लिएको हो ।
कलोन क्षेत्रमा भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले जेसिबिको चाबी नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
नेपाली क्षेत्रमा प्रवेश गर्नका लागि भारतले कुनै अनुमति नलिएको उहाँको भनाई छ । नेपाली क्षेत्रको बाटो प्रयोग गरेर माथिल्लो क्षेत्र गइरहेको जस्तो देखिए पनि नेपाली बाटो प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
चाबी नियन्त्रणमा लिएको भए पनि भारतीय जेसिबि फिर्ता भएको छ ।
दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी देखि कलोन क्षेत्रसम्म महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
भारतले हाल आफ्नो पुरानो तटबन्धभन्दा करिब १० मिटर वर नयाँ तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरी काम भइरहेको भन्दै दार्चुलाबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले भारतीय तटबन्ध निर्माणको काम रोकिनुपर्ने बताउनुभएको छ ।
भारतले निर्माण गरिरहेको तटबन्धको सन्दर्भमा हालै नेपाली स्थानीय प्रशासन र भारतीय स्थानीय प्रशासनबीच छलफल भएको छ । आफूले निर्माण गरिरहेको तटबन्धको डिजाइन तथा संरचनाबारे भारतले नेपाली पक्षलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
भारतीय तटबन्धको डिजाइनबारे माथिल्लो निकायलाई जानकारी गराइएको र तटबन्ध बारे विस्तृत अध्ययनका लागि विज्ञटोली पठाउन अनुरोध गरेको उहाँको भनाइ छ ।
यसैबीच दार्चुला सदरमुकाम नजिकैको क्षेत्र महाकाली नगरपालिका वडा नम्बर १ कलोनमा नेपालका तर्फबाट निर्माण भइरहेको तटबन्धको काम रोकिएको छ । काम सुचारु गर्न भन्दै स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।