काठमाडौं । छिमेकी देश चीनमा कोरोनाको नयाँ संक्रमणले गत २ वर्षको रेकर्ड तोडेको छ ।
यसैगरी जर्मनी, इटाली, फ्रान्ससमेत कयौं युरोपेली देश र दक्षिण कोरियाजस्ता एसियाली देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ । कोरोनाको यो ताजा लहरका पछाडि ‘स्टेल्थ ओमिक्रोन’ भनिँदै आएको ओमिक्रोनको सब भेरियन्ट ‘बीए २’ लाई जिम्मेवार मानिँदै आएको छ ।
२० फेब्रुअरीपछि चीनमा दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ र विगत ५ दिनदेखि त्यहाँ प्रत्येक दिन एक हजारभन्दा बढी नयाँ केस देखिएका छन् ।
चीनको ३१ प्रान्तमध्ये २८ प्रान्तमा कोरोनाको केस देखा परेका छन् । धेरैजसो मामिला जिलिन प्रान्तमा भेटिएको छ । ९० लाख मानिसको बसोबास रहेको जिलिन प्रान्तको राजधानी र अटोमोबाइल हब चांगचुन शहरमा कडा लकडाउन लगाइएको छ । यस बाहेक बेइजिङ, सांघाई र सेनजेनमा पनि कोरोना तीव्र दरमा फैलिएको छ ।
संक्रमण फैलिएपछि चीनका कमसेकम १३ शहरमा कडा लकडाउन गरिएको छ । कयौ कारखाना पनि बन्द गर्नु परेको छ । चीनका करिब ५ करोड मानिस लकडाउनमा बस्न बाध्य भएका छन् ।
उता युरोप र एसियाका देशमा पनि कोरोना संक्रमण बढ्न थालेको छ । विशेषगरी जर्मनीमा प्रत्येक दिन २.५ लाखभन्दा बढी नयाँ केस देखिएका छन् । यसैगरी एसियाली देश दक्षिण कोरियामा १६ मार्चमा ४ लाख नयाँ केस देखिएका छन्, जुन यस देशका लागि नयाँ रेकर्ड हो ।
यसैगरी फ्रान्स, इटाली, नेदरल्यान्ड र स्विट्जरल्यान्ड जस्ता अन्य युरोपेली देशमा पनि कोरोनाको केस बढ्न थालेको छ । अमेरिकामा पनि प्रत्येक दिन करिब २५ देखि ३० हजार नयाँ संक्रमित देखा परेका छन् । यी सबैका पछाडि ओमिक्रोनको सब–भेरियन्ट ‘बीए २’ अर्थात् स्टेल्थ ओमिक्रोनलाई जिम्मेवार मानिएको छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वका कयौं देशमा बढेको कोरोनाको केसप्रति चिन्ता व्यक्त गरेको छ । लाई समस्याको एक झलक भएको जनाएको छ । उसले कोरोना महामारीको नयाँ लहरको खतरा विद्यमान रहेको प्रस्ट पारेको छ ।