काठमाडौं । कञ्चनपुरको सीमा क्षेत्रमा पर्ने अधिकांश जग्गा अहिले भारतको कब्जामा छ।
जिल्लाको पुनर्वास, बेलौरी हुँदै भीमदत्तको ब्रह्मदेवसम्म भारतले अतिक्रमण गरेको छ। उक्त क्षेत्रमा नेपाली लालपूर्जा भएको एक सय ३० हेक्टर जमिनमा भारतको दादागिरी चल्दै आएको स्थानीयको गुनासो छ। योसँगै अन्य खोलानाला, नदी तथा पर्ति जग्गाको केही अंशमा पनि भारतको नजर कायमै छ।
नेपाल–भारत संयुक्त सर्भे टोलीले बनाएको नक्साको आधारमा भारतले नेपाली भूमिलाई पनि आफ्नो दाबी गर्दै आएको छ। प्यारातालदेखि, सडकघाट लगायतका क्षेत्रमा भारतले आँखा लगाएको छ। यो समस्या समाधानमा सरकारी स्तरबाटै पहल हुन आवश्यक भए पनि बेवास्ता हुँदै आएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लव भट्टले बताउनुभयो । यसमा नेपाल सरकार नै गम्भीर बन्न आवश्यक रहेको उहाँको भनाइ छ ।
सीमा विवादकै कारण पुनर्वास, बेलौरी लगायतका स्थानीय त्रासपूर्ण वातावरणमा दैनिकी बिताउन बाध्य भएका छन्। नेपाली जग्गामा भारतीय पक्षको कब्जाको कारण आफ्नो नाममा भएको जग्गामा खेती लगाउन पनि भारतले अवरोध गर्दै आएको स्थानीयको गुनासो छ । जग्गाको कारोबार समेत ठप्प छ । भारतले स्ट्रिप नक्सालाई आधार बनाएर नेपाली भूमिलाई आफ्नो दाबी गर्दै आएको छ। तर उक्त नक्साको विवाद बारेपनि नेपाल सरकार मौन छ।
सीमा विवादको समाधान संघीय सरकारबाट नै हुने हुँदा यस विषयमा संघीय सरकारले नै काम गर्नुपर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो । कतिपय गाउँमा खेती गर्न र जग्गाको कारोबार गर्न समस्या रहेको उहाँले स्वीकार्नुभयो । स्थानीय प्रशासनले सीमा विवाद बढाउन नहुने भन्दै उहाँले यसमा सरकारले नै आवश्यक पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सीमा अतिक्रमणसँगै सीमा स्तम्भ (पिल्लर) मर्मत सम्भारमा पनि लापरबाही हुँदै आएको छ। कतिपय ठाउँमा पिल्लर जिर्ण बनेका छन् भने कतिपय ठाउँका पिल्लर गायब पारिएको छ।