काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू शेष घले र देवमान हिराचनले संस्था गम्भीर संकटमा परेको भन्दै संघको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गर्नुभएको छ ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्षहरूले बोलाएको बैठकले चार बुँदे प्रस्ताव पारित गर्दै संरक्षक परिषद् तथा उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आह्वान गरेको हो ।
बैठकमा गत वर्ष चुनाव भएका ६५ वटा एनसीसीहरु मध्ये ४५ भन्दा बढी एनसीसीका अध्यक्ष तथा पदाधिकारीहरू सहभागी भएका थिए ।
बैठकलाई सम्बोधन गर्दै संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले एनसीसीहरू लगायत सबैलाई ‘एकताबद्ध तथा बलियो एनआरएनए बनाउने’ एउटा मात्रै मुख्य ध्येय लिएर अगाडि बढ्न आह्वान गर्नुभयो । उहाँले एनसीसीहरूलाई संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिन आग्रह गर्नुभयो ।
एनसीसीहरू स्वायत्त र सार्वभौम रहेको भन्दै उहाँले एनसीसीहरूलाई उनीहरूले गरिराखेको राम्रो काम जारी राख्न आग्रह गर्नुभयो । संस्थालाई एकजुट गर्न आफूहरुले छिट्टै कदम चाल्ने पनि उहाँले बताउनुभयो ।
अर्का पूर्वअध्यक्ष देवमान हिराचनले संघ कुनै व्यक्तिगत स्वार्थको लागि बनाएको संस्था नभई संसारभरिका नेपालीहरूको हितको लागि बनाएको संस्था भएकोले कुनै पनि हालतमा संस्थालाई बचाउनु पर्नेमा जोड दिनुभयो । उहाँले संस्था फुटाउन लागेको भन्ने कुरामा विश्वास नगर्न पनि आग्रह गर्नुभयो ।
संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले यो सत्य र असत्यबीचको लडाइँ भएको भन्दै उच्चस्तरीय समिति र संरक्षक परिषद् चाहिएको बेला खारेज गर्ने भन्ने निर्णयले संस्थालाई विभाजनतर्फ धकेलेको बताउनुभयो । अहिलेको नेतृत्वले गलत काम गर्दै गएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले कोरम नपुगेको मार्च २ मा बसेको आईसीसी बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग गर्ने भन्ने निर्णय विधान विपरित भएकाले त्यसको कुनै कानूनी हैसियत नभएको जिकिर गर्नुभयो ।
उनले एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भंग गर्ने भनी पत्राचार गरेकोमा आपत्ति व्यक्त गर्नुभयो । त्यो पत्र र संरक्षक परिषद् भंग गर्ने निर्णय पनि फिर्ता लिनुपर्ने उहाँको भनाइ थियो ।