काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यको राज्य बिधायक सदस्यमा नेपाली मूलका डा ह्यारी भण्डारी दोश्रो पटक पुनः निर्वाचित हुनुभएको छ ।
उहाँ कूल १२,३४४ मत ल्याई पुनः विजयी हुनुभएको हो । अझै केही मतपेटिकाबाट आएका मतपत्र गन्न बाँकी रहेपनि उहाँको जीत पक्का भएको छ । भण्डारीले दोश्रो कार्यकालको लागि काम गर्ने अवसर पाएकोमा मतदाता र आफ्नो क्षेत्रका वासिन्दालाई धन्यवाद दिदै सम्बोधन समेत गर्नुभएको छ ।
संघीय रुपमा आधिकारिक घोषणा हुन बाँकी रहेको उहाँले आफ्नो बिजयी भाषणमा उल्लेख गर्नुभएको छ ।
आफ्नो कार्यकालमाआफ्नो क्षेत्रमा उनले गरेको कामको उच्च मुल्यांकन गर्दै आखिरमा मेरिल्याण्ड चुनाव क्षेत्र ८ का जनताको विश्वासको कारण दोश्रो कार्यकालको लागि जित्न सफल भएको उहाँले उल्लेख गर्नुभएको छ ।
डा भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जन संख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेका छन् ।
नेपाली समुदायमा ईतिहास रचेर पहिलो सांसद भएका भण्डारीले नेपाली समुदायलाई थुप्रै योगदान र सहयोग गर्नुभएको छ ।
उहाँले अघिल्लो चार वर्षको कार्यकालमा अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड बिधान सभा (हाउस अफ एसेम्बेली) सदस्यको रूपमा १४ विधेयकलाई कानून बनाउन सफलता हासिल गर्नुभएको थियो ।
उहाँले दशैलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा उल्लेख गरेर दशै विधेयक सदनमा प्रस्तुत गरेको र तल्लो सदनमा ऐतिहासिक दुईदलीय मतका साथ पारित गराउनुभएको थियो ।
यस्तै उहाँले मेरिल्याण्डमा भएको एक बन्दुक आक्रमणमा मारिएका नेपाली युवाका नाममा सागर घिमिरे बिधेयक (एक्ट) प्रस्तुत गर्नुभएको थियो । उक्त क्षेत्रमा ५० बर्षको ईतिहासमा ३ वटा नया बिद्यालयहरु निर्माण गराउन पनि उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।