काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन बुधबार हुँदैछ ।
निर्वाचन कार्यतालिका अनुसार मंगलवार उम्मेदवारी दर्ताको कार्यक्रम छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।
देउवा संस्थापन पक्षबाट र थापा संस्थापनइतर पक्षबाट संसदीय दलको नेताका लागि उम्मेदवार बन्नुभएको हो । संसदीय दलको नेता बन्न आकांक्षी नेता धेरै भए पनि अन्ततः देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । योसँगै काँग्रेसको संसदीय दलको नेता चयनको निर्वाचन रोचक हुने देखिएको छ भने चुनावी समीकरणको हिसाबकिताब समेत शुरु भएको छ ।
कस्तो छ समीकरण
मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट जितेको काँग्रैसको संस्थापन पक्षमा ३३ सांसद छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायरलगायतले संस्थापन पक्षबाट प्रत्यक्षतर्फ जितेका हुन् ।
यस्तै रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खुमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की र डा नारायण खड्का पनि संस्थापन पक्षकै मानिन्छन् ।
समानुपातिकतर्फ २२ सांसद संस्थापन पक्षका छन् । शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजू राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जाबेदा खातुन जागा, डा। प्रकाशशरण महत, विमलेन्द्र निधि र अञ्जनी श्रेष्ठ संस्थापन पक्ष निकट सांसद हुन् ।
यस्तै इतर पक्षबाट प्रत्यक्षतर्फ निर्वाचित हुने सांसदको संख्या २४ छ । डा शेखर कोइराला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईंलगायतले संस्थापनइतर पक्षबाट प्रत्यक्षतर्फ जितेका छन् ।
यस्तै राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, राजु थापा, धनराज गुरुङ र बद्री पाण्डे पनि संस्थापन इतर पक्षका मानिन्छन् ।
यसैगरी संस्थापनइतर पक्षबाट समानुपातिकतर्फ सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल सांसद बनेका छन् ।
संस्थापन पक्षमा रहेको भनिएकामध्ये प्रदीप पौडेलले गगनलाई उम्मेदवारी मनोनयनमै समर्थन गरेका छन् । रामहरी खतिवडा लगायत केही नेता पनि गगन थापासँग निकट मानिन्छन् । यता इतर पक्षमा रहेका केही सांसद पनि संस्थापनसँग सम्वादमा रहेको बताइन्छ ।