काठमाडौँ । रुसले लगतार युक्रेनका विभिन्न सहरमा आक्रमण जारी राखेको नवौँ दिन बितेको छ ।
यस अवधिमा झण्डै १० लाख मानिस युक्रेनबाट विस्थापित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । रुस–युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।
युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् । तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ । युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौँ पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् । युक्रेनबाट बाहिरिएका मध्ये ४० जना नेपालीले मात्र यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जनाउनुभयो । समितिको बैठकमा जानकारी दिँदै उहाँले नेपाली नागरिक सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रोमानिया र माल्दावा देशमा पुगेको बताउनुभयो ।
समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष बद्री केसीले युक्रेनमा स्थायी रूपमा बसोवास गरिरहेका ४० जनाको परिवारले भने युक्रेन छाड्न नसकेको जानकारी दिनुभयो । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। बोधराज सुवेदीले उद्धार गर्नुपर्ने नेपालीको सङ्ख्या अब कम हुँदै गएको बताउनुभयो । उहाँले अझै केही नेपाली नागरिक युक्रेन युद्धमा हराइरहेको आशङ्का रहेको जनाउनुभयो ।
स्लोभाकियाका सङ्घ प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेस्टुरेन्टमा सेल्टर बनाएर नेपाली, भारतीय, बङ्गलादेशी र सेनेगलका नागरिकलाई राख्नुभएको सङ्घले जनाएको छ । कतिपय देशमा पुग्नुभएका नेपाली नागरिकका लागि आर्थिक सहयोग जुटाउन सङ्घले पहल गरिरहेको छ ।