काठमाडौं । काठमाडौं २ मा हेभिवेट र पुराना तथा परिवर्तनकारी उम्मेदवारलाई हराउँदै सांसदमा चुनिएकी २७ वर्षीया सोबिता गौतम सबैभन्दा कान्छी सांसद बन्नेछिन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार यो निर्वाचनमा निर्वाचित सबैभन्दा कान्छी सांसद हुन् ।
गहकिलो तर्कसहित तेजिलो बोल्ने क्षमता भएकी सोबिता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हबाट संसदीय यात्रा तय गरेकी हुन् । उनले पूर्वसभामुख ओनसरी घर्ती र नेकपा एमालेका नेता तथा निवर्तमान बागमती प्रदेश सभा सदस्य मणिराम फुयाँललाई पराजित गरेकी हुन् ।
पातलो ज्यान, मीठो बोलीकी उनलाई मतदाताले सुन्दरी उम्मेदवार भनेर जिस्क्याउने गरेका थिए। कमाण्डिङ शैली, प्रष्ट विचार र गहहिलो तर्कका कारण उनी सामाजिक सञ्जाल, टिकटक, फेसबुक र ट्विटरमा छाएकी थिइन् । जसको कारण मतदाताले पनि सुरुदेखि नै उनको पक्षमा माहोल बनाएका थिए। वर्षा शिवाकोटी, दीपाश्री निरौला लगायतका कलाकारदेखि राजनीतिज्ञसम्म, विज्ञदेखि विश्लेषकसम्म धेरैले खुलेरै उनको पक्षमा मत अपिल गरेका थिए ।
सोविता टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता र अधिवक्तासमेत हुन् ।
८० वर्षपछिको भविष्य हेरेर योजना बनाउने युवा पुस्ताले चुनाव जित्नुपर्ने बताउदै आएकी उनी काठमाडौं २ बाट आफैं जनताको भविष्य कोर्ने नीति बनाउने ठाउँमा पुगेकी हुन् ।