काठमाडौँ । प्रतिनिधिसभाको नयाँ निर्वाचन अन्तर्गत आज देशभर मतदान हुदैछ । तर आजको निर्वाचनबाट निर्वाचित भएर आउने सांसद्का लागि सिंहदरबारमा बनिरहेको नयाँ भवनहरू भने अझै निर्माणाधीन अवस्थामै रहेको छ ।
१५१ रोपनीमा निर्माण भइरहेको भवन आगामी चैत्र मसान्तसम्म तयार भइसक्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौतापत्रमा उल्लेख छ । तर कोराना लगायतका विविध कारणले काममा ढिलाइ भएको कारण देखाइ भवनको निर्माण सम्पन्न हुन अझै डेढदेखि दुई वर्षसम्म लाग्न सक्ने जनाइएको छ। त्यसैले आजको मतदानबाट निर्वाचित भएर आउने नयाँ सांसद नयाँ भवनबाट तत्कालै कार्य सञ्चालन गर्न पाउने छैनन्। भवन निर्माणको सम्झौता २०७६ असोजमा भएको थियो। सम्झौताअनुसार २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि निर्माणमा ढिलाइ भएको हो।
नवनिर्मित संसद् भवन पाँच तले हुनेछ। नयाँ भवनमा राष्ट्रियसभा, प्रतिनिधिसभा, संसद् सचिवालय, विभिन्न दलका संसदीय दलको कार्यालय र विभिन्न समितिका कार्यालय हुन्छन्। त्यस्तै सभाकक्ष तथा करिब ३०० जना क्षमताको सुरक्षाकर्मी भवन पनि हुनेछ।
संसद्का लागि १२ वटा भवन बन्दैछ। भवनमा चारवटा गेट र ल्याण्ड स्केपिङ्गसमेत रहनेछन्। संघीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रियसभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत रहनेछन्। राष्ट्रियसभा २९० र प्रतिनिधिसभासहित संयुक्त बैठकका लागि ३५० सिट क्षमताको हल बन्नेछन्।
कुल सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुन लागेको भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करिब रु ९ अर्ब ६० करोड पुग्ने आँकलन छ।
सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन भवनको ठेक्का चिनियाँ र नेपाली ज्वाइन्ट भेन्चर एचएसईसी टुन्डीले लिएको छ। निर्माणको भौतिक प्रगति ६० प्रतिशत पुगेको आयोजनाले जनाएको छ।