काठमाडौं । नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ शुक्रवारबाट नेपालमा पनि रिलिज हुने भएको छ ।
ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपालमा वितरण गर्ने भएको हो ।
यो फिल्ममा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग गरिएको छ । बलिउड फिल्म भएपनि यो फिल्मले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ । तर नेपालमा नाम चलेका वितरण कम्पनीहरुले यो फिल्म नेपाल भित्राउन चासो दिएका थिएनन् । तर अन्तिम अवस्थामा ट्राभलर्स क्रिउले राम्रो रकम तिरेर यो फिल्मलाई नेपालमा ल्याएको हो ।
फिल्मलाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् । यो फिल्मको लाइन प्रोड्यूसरमा नेपालको चर्चित फिल्म निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् रहेको छ । नेपालमा यो फिल्म छायांकन गर्दा करिब २० करोड खर्च भएको थ्रि ह्विलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिनुभयो ।
फिल्म उचाइलाई मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । क्यूएफएक्स चेनले फिल्मका लागि १७ शोज दिएको छ । यस्तै, बीग मुभिजले फिल्मलाई ४ शोज दिएको छ । वान सिनेमाज्ले कालिमाटी र नयाँ बाँनेश्वरमा गरि ५ शोज उपलब्ध गराएको छ ।
सुरज बर्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो फिल्मलाई निर्माण गरिएको छ । राजश्री प्रोडक्शनले यो फिल्मलाई निर्माण गरेको हो ।