काठमाडौं । नेपालमा गाडी आयात प्रतिबन्धको निरन्तर विरोध भइरहेको छ ।
तर भन्सार नाकामा करिब १८ सय गाडी थन्किरहेको खुलासा भएको छ । वीरगन्ज, भैरहवा र उत्तरी नाकामा गरी करिब १८ सय गाडी क्लियरेन्स नभएको भन्सार विभागले जनाएको छ। गाडी क्लियरेन्स गर्न व्यापारीहरु नै अनिच्छुक देखिएको उहाँले बताउनुभयो ।
अर्थ मन्त्रालयले ती १८ सय गाडीको चाँडो ‘क्लियरेन्स’ गराउन खोजे पनि व्यापारीहरुले नै ‘क्लियरेन्स’ गर्न नचाहेको बताएको छ।
यता नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा अटो व्यवसायी ध्रुव थापा पनि केही हदसम्म यसलाई स्वीकार्न सकिने बताउँनुहुन्छ । प्रतिबन्धले बजारमा गाडीको अभाव भइरहेकोमा बैंकको बढ्दो ब्याजदरले व्यवसाय राम्रो नहुँदा व्यापारीलाई दोहोरो मार परेको उहाँको भनाइ छ।
आयात गरिसकेका सयौँ गाडीहरुको उनीहरुले भन्सार ‘क्लियरेन्स’ नगरेपछि भन्सारमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले गत वर्ष पुस ५ देखि नगद मार्जिन राखेर मात्रै आयात गर्न सकिने व्यवस्था गरेको थियो।
केन्द्रीय बैंकको कडाइपछि सरकारले गत वैशाखयता आगामी मंसिरसम्म गाडी आयात गर्न रोक लगाएको छ।
यद्यपि विद्युतीय गाडी आयातमा भने प्रतिबन्ध छैन । व्यापारीहरुले भने बजारमा पेट्रोलियम गाडीको अभाव भएको भन्दै आयात तत्काल खुलाउनुपर्ने माग राख्दै आएका छन्। त्यसमा पनि प्यासेन्जर भेहिकलको चरम अभाव भएको उनीहरुले बताउँदै आएका छन्।
कहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय त कहिले अर्थ मन्त्रालयसम्म पुगेर उनीहरुले गाडी आयात खोलिदिन माग गर्दै आएका छन्।