काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका निवासी कर्णसिंह रावल उर्फ ‘मम्याल बाजे’ संसदीय निर्वाचन ताका चर्चामा आउँछन् ।
८१ वर्षीय ‘मम्याल बाजे’ यसपटक पनि शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा छन् । त्यसो त प्रधानमन्त्री देउवाविरुद्ध उनले यसपटक मात्र उम्मेदवारी दिएका होइनन् । उनले २०५६ सालको निर्वाचनबाट देउवाविरुद्ध उम्मेदवारी दिदै आएका छन् । त्यसबेला उनले १ सय ९८ मत पाएका थिए । हालसम्म चारपटक उनले देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् । यसपटक पनि कर्णसिंह रावलले उम्मेदवारी दिएका छन् ।
उनी भन्छन् ‘मुलै बाँचुन्ज्यालसम्म एक भोट आएलै शेरबहादुर देउवासित चुनाव लड्डे हुँ । उइलाई निर्विरोध जित्त दिन्या हैन । अर्थात म बाँचुञ्जेलसम्म शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने हो । उहाँलाई निर्विरोध कहिल्यै जित्न दिने हैन ।
एक मत आए पनि खुसी रहने बताउँदै आएका उनी प्रचारप्रसार गर्दैनन् । तर पनि उनलाई जिल्लाभरिका जनताले चिन्छन् । यसपटक चुनाव चिह्न सूर्यमुखी फूल पाएका उनले प्रचारप्रसारमा खासै जाँगर चलाएका छैनन् ।
२०४८ सालको आम निर्वाचनमा शेरबहादुर देउवा पहिलोपटक डडेल्धुराबाट चुनाव लडेका थिए । त्यतिबेला कर्णसिंह रावल जिल्ला मालपोत कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए । कार्यालयले चुनावको बेला उनलाई भित्री मधेसको जोगबुढामा खटाएको थियो ।
त्यहाँ देउवालाई सहयोग गर्न उनी एक्लैले एक सयभन्दा बढी भोट दिलाएका थिए । त्यसपछि देउवा जितेर गृहमन्त्री बने । उनले देउवालाई आफ्नै मान्छे सम्झेर आफन्तलाई मत हाल्न लगाएका थिए ।
तर, एकाएक २०४९ सालमा कर्णसिंह रावललाई बैतडी जिल्लामा सरुवा गरिएको पत्र आयो । तर उनलाई भने जिल्लामै बस्ने इच्छा थियो ।
त्यसपछि उनी भारतको बाटो हुँदै देउवा भेट्न काठमाडौं गए । तत्कालीन गृहमन्त्री देउवालाई गृहसचिव मार्फत कुरा राख्दा पनि देउवाले चासो नदिएको उनी बताउछन् । डडेल्धुराकै ती गृहसचिवले सरुवा स्थगित गरी जिल्लामै काम गर्ने पत्र बनाइदिए पनि मम्याल बाजेले त्यही बेला नै एक मत आए पनि देउवाविरुद्ध चुनाव लड्ने अठोट लिएका थिए । २०५४ सालमा सेवानिवृत्त भएका उनले । २०५६ सालमा पहिलोपटक शेरबहादुर देउवाविरुद्ध चुनाव लडेका थिए । त्यतिबेला १ सय ९८ मत पाएका रावलले पछिल्लोपटक २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा २ सय ८० मत पाएका थिए ।
यसपटक निर्वाचित भए सबै स्थानीय तहमा विकास गर्ने उनको चुनावी एजेन्डा छ ।