काठमाडौं । नेपालका लागि चीनका निवर्तमान राजदूत होउ यान्छी कुटनीतिक रुपमा कति सफल वा किन असफल भइन् भन्ने समीक्षा हुने नै छ । तर नेपाली जनताको मनमा भने बेग्लै छाप छोड्न सफल भएकी छिन् । कुटनीतिभन्दा बाहिर निस्केर नेपाली जनता, यहाँको संस्कार र संस्कृतिको माध्यमबाट यहाँको पर्यटन प्रवद्र्धनमा उनले गरेको प्रेम र प्रवद्र्धन अविस्मरणीय रह्यो ।
चार वर्षअघि बेइजिङबाट काठमाडौँ उत्रेकी सुन्दरी राजदूतको चर्चा पाएकी होउ यान्छी कार्यकाल सकेर मंगलबार बिहान स्वदेश फर्किइन्। फर्किनुअघि तस्बिरसहितको ट्विट गर्दै राजदूत होउले नेपालमा रहँदा यहाँका सबै तप्कासँग ‘गहिरो मित्रता’ गाँसेको बताएकी छिन्।
‘कार्यकाल पुरा गरेर मैत्रीपूर्ण र सुन्दर छिमेकी मुलुक नेपाल छाडेर जाँदैछु। सबै नेपाली मित्रहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु। नेपालका सबै तप्कासँग गाँसिएको गहिरो मित्रताको म सधैँ सम्मान गरिरहनेछु,’ राजदूत होउले लेखेकी छिन्।
२०७५ कात्तिक दोश्रो साता कार्यभार सम्हाल्न काठमाडौँ आएकी होउ पछिल्ला दशकमा सबैभन्दा धेरै समय नेपालमा बिताउने चिनियाँ राजदूत बनिन्। अक्सर चिनियाँ राजदूत बढीमा साढे दुईदेखि तीन वर्ष मात्रै नेपालमा बस्ने गरेको देखिन्छ। तर राजदूत होउ पुरा चार वर्ष नेपालमा रहिन्।
होउ चीनका तर्फबाट नेपाल आएकी दोश्रो महिला राजदूत थिइन्।
राजदूत होउ नेपालमा बेलाबखत चर्चामा आइरहिन् । कहिले उनका कूटनीतिक भेटघाट त कहिले उनका अन्य गतिविधिले उनी नेपाली माझ चर्चामा रहिन्। होउ परम्परागत चिनियाँ कूटनीतिक शैलीमा मात्र सीमित रहिनन्। सांस्कृतिक कूटनीति प्रबद्र्धन गर्दै उनले चीनको ‘सफ्ट पावर’ अभिवृद्धि गर्न कोसिस गरिरहिन्। जिम्मेवारी सम्हाल्न काठमाडौँ आएको तीन महिनापछि फागुन २०७५ उनले काठमाडौंमा नेपाली गीतमा छमछमी नाचेर चर्चा बटुलेकी थिइन्।
उनको अर्को कार्यले होउलाई नेपालमा अझ धेरै चिनायो। तत्कालीन ओली सरकारले भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो। २०७६ मंसिर महिनामा राजदूत होउले रातो पहिरनमा सजिएर बसन्तपुर दरबार परिसरमा फोटो सेसन गरिन्, अनि त्यसलाई ट्विटरमा राखेर प्रचार गरिन्।
तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईलाई ट्याग गरेर उनले लेखेकी थिइन्-‘वास्तविक सौन्दर्यले ह्रदयलाई सधैँ छुन्छ। इतिहास, विविधता र प्रकृतिले मनोरम नेपाल भ्रमण गर्नलायक छ।’